२०८३ साउन २० बुधबार

तत्काल परीक्षण उडानको व्यवस्था मिलाउन माग

ई आर्थिक    आइतबार, भाद्र २० २०७८
6.1K
Shares
तत्काल परीक्षण उडानको व्यवस्था मिलाउन माग

बुटवल : बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तत्काल परीक्षण उडान गर्न माग गरेको छ। हालसम्म ९८ प्रतिशत निर्माण कार्य सकिएको भनिएको विमानस्थल क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) नहुँदा सञ्चालनमा ढिलाइ भएको भन्दै संघले थाइल्यान्डको एरोथाई कम्पनीले समयमै परीक्षण उडान नगरे विकल्प खोजेर यथाशक्य चाँडो विमानस्थल सञ्चालनको प्रबन्ध मिलाउन सुझाव दिएको छ।

संघको टोलीले केही दिनअघि विमानस्थलको स्थलगत अवलोकन गरेको थियो। त्यस बेला विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले विमानस्थल निर्माणको काम करिब सकिएको र क्यालिब्रेसन फ्लाइटको लागि थाइल्यान्डको एरोथाई कम्पनी तयार नहुँदा सञ्चालन अनिश्चित बनेको बताएका थिए।

संघका अध्यक्ष उज्ज्वल कसजूले एरोथाईले समयमै परीक्षण उडान गर्न नसके विकल्प खोजेर विमानस्थल समयमै सञ्चालनको प्रबन्ध मिलाउन आग्रह गरे। विमानस्थल सञ्चालनमा ढिलाइ हुँदा यस क्षेत्रको पर्यटन उद्योगमा ठूलो असर पर्ने भन्दै उनले कोरोनाका कारण जोखिममा परेको अर्बौंको लगानी संरक्षणका लागि छिटो विमानस्थल सञ्चालन गर्नुपर्ने बताए। उक्त विमानस्थल सञ्चालनमा आए पर्यटन क्षेत्रका साथै व्यापार विस्तार गर्न र कार्गो विमानमार्फत यस क्षेत्रका कृषिजन्य उत्पादन–– कफी, फलफूल, जडीबुटी तथा खाद्यान्न निर्यातको ढोका खुल्ने संघका अध्यक्ष कसजूले बताए।

पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्ष टंकप्रसाद गैरे, सचिव मुक्ति अधिकारी लगायतले सिंगो मुलुकको आर्थिक विकास र अन्तर्राष्ट्रिय पर्यटन र व्यापार प्रवद्र्धन गर्न गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशक्य चाँडो सञ्चालनमा ल्याउन सरकारको ध्यान जानुपर्नेमा जोड दिए। दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी १५ जनवरी २०१५ मा शिलान्यास भएको यो विमानस्थल निर्माणको म्याद पटकपटक थप गर्दै ६ वर्ष बितिसक्दा पनि निर्माण सकिएको छैन।

आयोजना प्रमुख अधिकारीले निर्माणको काम करिब ९८ प्रतिशत सकिएको र अबको तीन महिनामा सबै काम सकेर परीक्षण उडानको काम मात्रै बाँकी हुने बताए। उनका अनुसार परीक्षण उडानको लागि सम्झौता गरिएको थाइल्यान्डको एरोथाई कम्पनीले अनेक कारण देखाउँदै परीक्षण उडानमा ढिलाइ गरिरहेको छ।

अन्तिम अवस्थामा नयाँ ठेक्कामा जाँदा झन् धेरै समय लाग्ने भएकाले ‘जिटुजी’ (सरकार–सरकार) बाट भए पनि परीक्षण उडानका लागि व्यवस्था मिलाउने प्रयास भइरहको आयोजना प्रमुख अधिकारीले बताए। थाइल्यान्डकै प्रविधि जडान भएकाले सकेसम्म सम्झौता अनुरूप एरोथाई कम्पनीले नै परीक्षण उडानको काम गरोस् भन्ने आयोजनाको चाहना रहेको अधिकारीले बताएको समाचार रेखा भुसालले आजको नागरिकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij