२०८३ साउन १६ शनिबार

एसईईका विद्यार्थीका लागि एसईई अफरसहित टेलिकमको निःशुल्क सिम

ई आर्थिक    बुधबार, साउन २७ २०७८
5K
Shares
एसईईका विद्यार्थीका लागि एसईई अफरसहित टेलिकमको निःशुल्क सिम

ई–आर्थिक, काठमाडौं । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यो वर्ष पनि एसईईका विद्यार्थीहरुका लागि एसईई अफरसहितको निःशुल्क सिम उपलब्ध गराउने भएको छ ।

उक्त सिम नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट निःशुल्क उपलब्ध हुनेछ । विद्यार्थीसँग पहिलेदेखि नै नेपाल टेलिकमको सिम छ भने सोही सिममा यी अफरहरु उपलब्ध गराउने व्यवस्था समेत गरिएको छ ।

नयाँ सिम प्राप्त गर्नका लागि विद्यार्थीहरुले कक्षा १० को कुनै मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता वा अरु परिचय पत्रको फोटोकपी संलग्न गरी फाराम भर्नु पर्नेछ । सिम लिइसकेपछि स्टुडेन्ट रजिष्ट्रेसन प्याक प्राप्त गर्नका लागि नयाँ मोबाइल नम्बरबाट *1600# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति (विक्रम सम्वत) उल्लेख गर्नुपर्दछ ।

उक्त स्टुडेन्ट रजिष्ट्रेसन प्याकबाट नेपाल टेलिकमको नेटवर्कभित्र दैनिक १० मिनेट कुराकानी गर्न र १० वटा एसएमएस पठाउन तथा १०० एमबी डाटा प्रयोग गर्न सकिने छ । यस अनुसार ३० दिनसम्म ३ हजार एमबी डाटा, ३०० मिनेट टकटाइम र ३०० वटा एसएमएसको सुविधा प्राप्त हुनेछ । उल्लिखित सुविधाहरु नेपाल टेलिकमको नेटवर्कमा मात्र लागु हुनेछ ।

यो अफर भएको नयाँ सिममा बोनस अन रिचार्ज प्याकसमेत उपलब्ध गराइएको छ । यस प्याकमा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा पनि ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल र ५० वटा एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । यो सुविधा ६ महिनासम्मको रिचार्जमा उपलब्ध हुनेछ । बोनसवापत यसरी प्राप्त हुने सुविधा ३ दिनभित्र प्रयोग गरिसक्नु पर्नेछ ।

विद्यार्थीहरुले पहिलेदेखि नै प्रयोग गरिरहेको नेपाल टेलिकमको मोबाइल नम्बरमा स्टुडेन्ट रजिष्ट्रेशन प्याक सुविधा उपयोग गर्नुपरेमा प्रयोग गरिरहेको मोबाइलबाट *1600# मा डायल गरी प्राप्त निर्देशन बमोजिम सिम्बोल नम्बर र जन्म मिति उल्लेख गर्नुपर्दछ । त्यसपछि नेपाल टेलिकमले प्राप्त सूचनाका आधारमा उक्त सिमलाई विद्यार्थी सिमका रुपमा रजिष्टर गर्दछ । स्टुडेन्ट रजिष्ट्रेसन प्याक र बोनस अन रिचार्ज प्याकबाट प्राप्त हुने कल मिनेट, एसएमएस र डाटा रजिष्टर गरेको र रिचार्ज गरेकोे ३० मिनेट भित्रमा प्राप्त गर्न सकिनेछ ।

एसईईका विद्यार्थीहरुका लागि कम्पनीले निःशुल्क प्रदान गरेको वा पहिलेदेखि नै प्रयोगमा रही विद्यार्थी सिमको रुपमा रुपान्तरण गरिएको सिमकार्डमा आवश्यकताबमोजिम ई–शिक्षा प्याकेज पनि लिन सकिनेछ । यसअघि ई–शिक्षा प्याकेजमा प्रदान गरिएको बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र प्रयोग गर्न सकिने समयावधिलाई थप गरी अबदेखि बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रयोग गर्न सकिने बनाइएकोछ ।

नयाँ सिम प्राप्त गरेका विद्यार्थीहरुले सिम कार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने १० रुपैयाँबाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् भने यो बाहेक ४० मिनेट टक टाइम र २० वटा एसएमएस सहितको सुविधा एक महिनाभित्र नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सक्नेछन् । त्यसैगरी सोही अवधिमा ६० एमबी डाटा पनि चलाउन सकिनेछ । हाललाई एसईई अफर सहितको नयाँ सिम तीन महिनासम्म उपलब्ध हुने नेपाल टेलिकमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij