ई–आर्थिक, काठमाडौँ । अमेरिकी सरकारले नेपाललाई दिएको १५ लाख मात्रा खोप नेपाल आइपुगेको छ । कोभ्याक्स परियोजनामार्फत उपलब्ध गराएको १५ लाख ३४ हजार ८ सय ५० मात्रा खोप काठमाडौं आइपुगेको हो ।
दोहाबाट नियमित उडानका रुपमा आएको कतार एयरवेजको विमानमार्फत आज सोमबार बिहान काठमाडौं आइपुगेको उक्त खोप जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको हो ।
उक्त विमान ९ः४७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक पत्रकार सम्मेलनको आयोजना गरी अमेरिकी राजदूत र्यान्डी बेरीले उक्त खोप अमेरिकी नागरिकका तर्फबाट नेपाललाई उपहार दिइएको बताए । उक्त खोपलाई राजदूत बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
आज आइपुगेको एक मात्रा मात्र लगाए पुग्ने यो खोप नेपालका १५ लाखलाई पुग्ने छ ।
हामीले यो खोप कुनै काम लिन वा सुविधा पाउनका लागि नदिएको प्रष्ट पार्दै राजदुत बेरीले खोपमा कुनै स्वार्थ नलुकेको पनि प्रष्ट पारे । सर्तहरू खुला र पारदर्शी रहेको भन्दै राजदुत बेरीले जीवनरक्षाको एक मात्र उद्देश्यसहित हामीले यो खोप उपलब्ध गराएको हो ।
पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री श्रेष्ठले उक्त खोप ५०–५४ उमेर समूहका नागरिकलाई लगाइने जानकारी दिए । जोन्सनको ‘जेन्सेन एडी२६.सिओभी.२’ एक मात्रा लगाए पुग्ने खोप हो ।
यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्कालीन उपयोगका लागि अनुमति प्रदान गरेको थियो । यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिनेछ ।
विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।
जेन्सेन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । डब्लूएचओको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ । ६ घण्टापछि उपयोग गर्न नमिल्ने बताइएको छ ।
विश्व स्वास्थ्य संगठनको यो खोपबारे जारी अन्तरिम गाइडलाइनअनुसार यो खोपको ०.५ एमएल इन्ट्रामस्कुलरको रूपमा डल्टोइड मांसपेशीमा दिइन्छ । हालसम्म यो खोपको एउटै मात्रा प्रस्ताव गरिएको छ ।
अतिरिक्त मात्राको आवश्यकता र समयबारे क्लिनिकल ट्रायलअन्तर्गत अध्ययन जारी छ । यो खोपलाई माइनस २० डिग्री सेल्सियसको तापक्रममा दुई वर्षसम्म सुरक्षित राख्न सकिन्छ भने २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा बढीमा ३ महिनासम्म राख्न सकिने जोन्सनको विज्ञप्तिमा उल्लेख छ ।