काठमाडौं । दुई पटक आवेदन लिएर लाइसेन्स नदिएको नेपाल धितोपत्र बोर्डले वस्तु विनिमय बजार (कमोडिटी एक्सचेन्ज) को लाइसेन्सका लागि पुनः आवेदन खुलाउने भएको छ । नयाँ निर्देशिका जारी भएपछि त्यसैअनुसार लाइसेन्स दिने तयारी अघि बढाइएको हो ।
बोर्डले असार १५ गते कमोडिटी एक्सचेन्ज सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने नीतिगत एवं प्रकृयागत व्यवस्थासम्बन्धी निर्देशिका–२०७८ जारी गरेको थियो । “कमोडिटी एक्सचेन्जलाई लाइसेन्स दिनुअघि यसको मापदण्ड बनाउन लागेका थियौं,” बोर्डका प्रवक्ता निरज गिरिले भने, “निर्देशिका जारी भएकाले अब तोकिएको मापदण्ड पूरा गरेर आउ भनेर फेरि आवेदन माग गर्छाैं ।”
सरकारले आगामी आर्थिक वर्षको बजेटमा कमोडिटी एक्सचेन्ज सञ्चालनमा ल्याउने उल्लेख गरेको छ । वस्तु विनिमय बजारसम्बन्धी ऐन–२०७४ र वस्तु विनिमय बजारसम्बन्धी नियमावली–२०७४ जारी भए पनि एक्सचेन्ज स्थापना गर्ने भन्दै बोर्डले दुई पटक आवेदन मागेको थियो ।
पछिल्लो पटक २०७६ वैशाखमा आवेदन खुल्ला गर्दा ६ कम्पनीले आवेदन दिएको थिए । बोर्डमा मर्केन्टाइल एक्सचेन्ज, कमोडिटी फ्युचर एक्सचेन्ज, मल्टि डेरिभेटिभ एक्सचेन्ज, राइजल कमोडिटी एण्ड डेरिभेटिभ एक्सचेन्ज र नेशनल कमोडिटी डेरिभेटिभ एक्सचेन्ज र नेपाल डेरिभेटिभ एक्सचेन्ज गरी ६ कम्पनीले आवेदन दिएका थिए ।
पहिला दुईवटा कम्पनीलाई मात्र लाइसेन्स दिने गरी प्रक्रिया अघि बढाइए पनि अब मापदण्ड पूरा गर्ने सबै कम्पनीलाई प्रदान गरिने प्रवक्ता गिरिले बताए ।
निर्देशिकामा एक्सचेन्ज सञ्चालननका लागि ऐनमा तोकिएको भन्दा पुँजी बढाउनका साथै कारोबार गर्ने वस्तुका आधारमा पुँजी तोेकेको छ । जसअनुसार कपास, अलैँची, जिरा, खुर्सानी, मरिच, काजु, सुपारी, मुसुरो, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सुर्ती, जुट, अदुवा, बेसार, फलफूल तथा सोबाट निर्मित जुसलगायतका कृषिजन्य उत्पादन, नरिवलको तेल, पाम तेल, तोरीको तेल, भटमासको तेल, सूर्यमुखी तेल, आलसको तेल तथा चिनी, सख्खर, चिया, कफी, अन्डा, जडिबुटीलगायत वस्तुको कारोबार गर्ने एक्सचेन्जको पुँजी १ अर्ब ५० करोड हुनुपर्नेछ ।
यसैगरी आल्मुनियम, तामा, सिसा, निकल, टिन, पित्तल, फलाम, स्टिलजस्ता धातुजन्य वस्तु जिंकधातुजन्य वस्तु आल्मुनियम, तामा, शिशा, निकल, टिन, पित्तल, फलाम, स्टिल, जिंकका साथै बहुमूल्य धातु जस्तै, सुन, चाँदी, प्लाटिनम र खनिज तेलजन्य वस्तु जस्तै, कच्चा तेल, पेट्रोलियन पदार्थ, प्राकृतिक ग्यास, हिटिङ आयल कारोबार गर्ने एक्सचेन्जको पुँजी २ अर्ब हुनुपर्ने व्यवस्था गरिएको छ ।
वस्तु विनिमय बजारसम्बन्धी ऐन–२०७४ एक्सचेन्ज सञ्चालन गर्नका लागि न्यूनतम चुक्ता पुँजी ५० करोड रुपैयाँ तोकिएको थियो । ऐनले पुँजी तोक्ने अधिकार बोर्डलाई दिएकाले निर्देशिका जारी गरी पँुँजी बढाएको हो ।
यसैगरी निर्देशिकामा बजार सञ्चालन गर्ने वैदेशिक रणनीतिक साझेदार अथवा प्राविधिक सहयोग गर्ने कम्पनी भित्र्याउन सकिने र यस्ता साझेदारलाई कुल चुक्ता पुँजीको कम्तीमा पाँच प्रतिशतदेखि बढीमा ५१ प्रतिशतसम्म अनिवार्य रूपमा सेयर लगानी गर्ने गरी प्रस्ताव गर्नुपर्ने व्यवस्था छ । तर, संस्थापकहरूले बैंक, वित्तीय संस्थालगायतबाट ऋण सापटी प्राप्त गरेको रकमबाट कम्पनीमा लगानी गर्ने नपाइने प्रावधान छ ।
कमोडिटी बजारको नियमन नहुँदा सर्वसाधारण ठगिएको गुनासो बढेसँगै सरकारले वस्तु विनिमय बजारसम्बन्धी ऐन–२०७४ र वस्तु विनिमय बजारसम्बन्धी नियमावली–२०७४ जारी गर्दै नियमनको जिम्मेवारी पनि बोर्डलाई दिएको समाचार आजको कारोबारले लेखेको छ ।