काठमाडौं । नेपालको श्रम बजारमा वर्षेनी प्रवेश गर्ने साढे ४ लाख श्रमशक्तिको विकल्प मानिएको वैदेशिक रोजगारीमा विगत दुई दशकयता सबैभन्दा बढी गिरावट आएको छ । कोरोना संक्रमणका कारण श्रम गन्तव्यमा रोजगारीका क्षेत्रमा आएको गिरावट र हवाईलगायतका सरोकार राख्ने क्षेत्र लामो समय बन्द हुँदा यसको असर नेपालको वैदेशिक रोजगारीको क्षेत्रमा परेको हो ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्यामा गिरावट आएसँगै त्यसको असर वैदेशिक रोजगार व्यवसाय र यसका सहायक स्वरोजगार व्यवसाय, बिमा, तालिम दिने संस्था र अन्य क्षेत्रमा समेत परेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकमा विदेशबाट आउने रेमिट्यान्स नघटेको सकारात्मक सन्देश आए पनि यसको वृद्धिदर भने घटेको विज्ञको भनाइ छ ।
दुई दशकयता वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा २० प्रतिशतभन्दा कम गिरावट आएको तथ्यांक भए पनि चालू आर्थिक वर्षमा मात्रै ६० प्रतिशतले कमी आएको छ । चालू आर्थिक वर्षको ११ महिना बितिसक्दा वैदेशिक रोजगारीमा जाने प्रक्रियाले लय लिन सकेको छैन ।
कोभिड संक्रमणका कारण श्रम गन्तव्यका रोजगारदाताले विदेशी श्रमिकको मागलाई घटाएसँगै रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख्या वृद्धि हुन नसकेको वैदैशिक रोजगार विभागको भनाइ छ । विभागका निर्देशक महेन्द्रनाथ भट्टराईका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा पुनः र नयाँ श्रम स्वीकृति लिनेको संख्या १ लाख ४६ रहेको जानकारी दिए ।
यद्यपि उनले केही दिनयता बन्द रहेका श्रम गन्तव्यमा श्रमिक जाने बाटो खुलेको बताए । यो संख्या गत वर्ष ३ लाख ६८ हजार रहेको थियो । चालू आवको जेठसम्म एक लाख ४६ हजारले विदेश जान श्रम स्वीकृति लिएकामध्ये ६३ प्रतिशत त बिदामा आएर जाने श्रमिकको संख्या मात्र रहेको छ । यो अवधिका रोजगारीका लागि विदेश जाने नयाँ श्रमिकको संख्या ३७ प्रतिशतमात्र रहेको छ ।
गत वर्षको ११ महिनाको तुलनामा चालू आवको सोही अवधिसम्म वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटेको पाइएको छ । बीचको केही समय कोभिड संक्रमण सुस्त भए पनि श्रम गन्तव्यका रोजगारदाताले विदेशी श्रमिकको माग नगर्ने र विभिन्न देशले लागू गरेको स्वास्थ्य मापदण्डका कारण चालू आवको ११ महिना पुग्दासमेत विदेश जानेको संख्या बढन नसकेको हो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष रोहन गुरुङ देशको श्रम बजारमा वर्षेनी प्रवेश गर्ने रोजगारयोग्य जनशक्तिलाई रोजगारी दिइरहेको वैदेशिक रोजगारी संकटमा रहेको बताए । “नेपालको वैकल्पिक रोजगारीको क्षेत्र मानिएको यो क्षेत्रलाई सरकारले बेवास्ता गरेको छ,” गुरुङले भने, “श्रमिकले पठाएको रेमिट्यान्स सधै हिसाब राख्ने सरकारले वैदेशिक रोजगार क्षेत्रका लागि राहतका कार्यक्रम ल्याउन सकेन ।” मलेसियालगायत खाडीका आधा दर्जन श्रम गन्तव्यका रोजगारदाताले नेपाली श्रमिकको माग बढाउन नसकेपछि वैदेशिक रोजगारी जानेको संख्या दुई दशकको तुलनामा यो वर्ष सबैभन्दा कमी आएकोे छ ।
गत वर्षको जेठसम्म पुनः श्रम स्वीकृति लिनेको युवाको संख्या एक लाख ७७ हजार ९८० रहेकोमा यो वर्षको जेठसम्म सो संख्या आधाभन्दा बढीले घटेर ८४ हजारमा सीमित रहेको छ । यसैगरी नयाँ श्रम स्वीकृती लिई गत वर्षको जेठसम्म १ लाख ९० हजारको हाराहारीमा रहेकोमा यो वर्षको जेठसम्म लगभग ६२ हजार रहेको छ । नयाँ श्रम स्वीकृति लिनेमा संस्थागत, व्यक्तिगत र वैधानिकीकरण सहितको हो ।
पुनः कोरोना संक्रमणको तेस्रो लहर आउने अनुमान गरिरहेका कारण आगामी आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जान दर अझैं घटने देखिएको छ । वैदेशिक रोजगारीमा जाने संख्याभन्दा रोजगारी गुमाएर, सम्झौता सकिएर वा बिदामा आउनेको संख्यामा भने वृद्धि भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको चैतको पछिल्लो साप्ताहिक प्रगति प्रतिवेदनमा हालसम्म विभिन्न श्रम गन्तव्यबाट ३ लाख ५५ हजार श्रमिक नेपाल फर्किएका छन् । यो संख्यामध्ये पनि बिदामा आउने भने न्यून रहेका छन् । कोभिडका कारण उडान बन्द हुने भयका कारण हाल बिदामा आउने श्रमिक न्यून हुने गरेका जानकारहरुले बताएको समाचार गोपाल संग्रौलाले आजको कारोबारमा लेखेका छन् ।