२०८३ भाद्र ३० मंगलबार

पुनर्बीमाका लागि ‘हिमालयन रि’ले पायो सैद्धान्तिक स्वीकृति

ई आर्थिक    मंगलबार, जेष्ठ १८ २०७८
8.3K
Shares
पुनर्बीमाका लागि ‘हिमालयन रि’ले पायो सैद्धान्तिक स्वीकृति

काठमाडौं । बीमा समितिले प्रस्तावित ‘हिमालयन रि’ इन्स्योरेन्स कम्पनीलाई पुनर्बीमा व्यवसाय सञ्चालन गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । समितिको हालै बसेको बोर्ड बैठकले हिमालयन रिलाई पुनर्बीमा व्यवसाय गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो ।

बीमा समितिले निजीक्षेत्रबाट एउटा नयाँ पुनर्बीमा कम्पनी स्थापना गर्न दिनेगरी प्रस्ताव आह्वान गरेको थियो । त्यसमा ५ प्रस्तावित पुनर्बीमा कम्पनीले आवेदन दिएका थिए । तीमध्येबाट समितिले हिमालयन रिलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो ।

समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले हिमालय रि इन्स्योरेन्सलाई स्थापनाका लागि सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको बताए । ‘कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिनेगरी सञ्चालक समितिले निर्णय गरिसकेको छ । तर, प्रस्तावकलाई आधिकारिक जानकारी दिइसकेका छैनौं, उनले भने, ‘अबको १÷२ दिनमा नै उक्त कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिएको आधिकारिक पत्र पठाउने छौं ।’

समितिबाट सैद्धान्तिक स्वीकृति पाएसँगै अब ‘हिमालयन रि’ कम्पनी रजिस्ट्रर कार्यालयमा दर्ता हुनेछ । साथै, स्वीकृति पाएको ६ महीनाभित्र नै आवश्यक प्रक्रिया पूरा गरेर कम्पनी सञ्चालनमा ल्याउनुपर्ने छ ।

आवश्यक पूर्वाधार जुटाएपछि कम्पनीले व्यवसाय सञ्चालनको अन्तिम स्वीकृतिका लागि समितिमा आवेदन दिनुपर्नेछ । आवेदन प्राप्त भएपछि समितिले कम्पनीको पूर्वाधारबारे आवश्यक अध्ययन गरेर सञ्चालनका लागि अन्तिम स्वीकृति दिने व्यवस्था छ ।

समितिका अनुसार सैद्धान्तिक स्वीकृति पाउने कम्पनीको चुक्तापूँजी रू. १० अर्ब रहेको छ । यस कम्पनीमा नेपाल उद्योग बाणिज्य महासंघको निवर्तमान अध्यक्ष भवानी रााणा, वर्तमान अध्यक्ष शेखर गोल्छाको लगानी हुने बताइएको छ । यस्तै, व्यवसायीहरू पशुपति मुरारका, दीपक भट्ट, शाहिल अग्रवाल, सुलभ अग्रवाललगायत व्यक्ति तथा विभिन्न व्यावसायिक घरानाको शेयर हुने उल्लेख छ । लक्की ग्रूप, दुगड ग्रूप, शंकर ग्रूपलगायत व्यावसायिक घरानाको लगानी रहेको समितिको भनाइ छ ।

हाल नेपालमा सरकारी स्वामित्वको नेपाल रि नामक पुनर्बीमा कम्पनी सञ्चालनमा छ । पुनर्बीमाकै विषयमा समितिले गरेको एक अध्ययनले थप अर्काे पुनर्बीमा कम्पनी स्थापना गर्न सकिने देखाएको थियो । त्यसपछि समितिले निजीक्षेत्रको स्वामित्वमा थप एक पुनर्बीमा कम्पनी स्थापना गर्न दिनेगरी गत वैशाख १६ गतेदेखि जेठ ५ गतेसम्म आवेदन दिन प्रस्ताव आ≈वान गरेको थियो । विभिन्न ५ प्रस्तावित पुनर्बीमा कम्पनीले सैद्धान्तिक स्वीकृतिका लागि आवेदन दिएका थिए ।

आवेदन दिने कम्पनीमा काठमाडौं रि, अन्नपूर्ण रि, प्रुडेन्सियल रि, हिमालयन रि र जेन्यून रि नामका कम्पनी रहेका छन् । तोकिएको आधारमा मूल्यांकन गर्दा हिमालयन रिको नम्बर बढी आएपछि उसैलाई नै सैद्धान्तिक स्वीकृति दिएको समितिको भनाइ छ ।

बीमा समितिले गत फागुनमा यस विषयमा अध्ययन समिति बनाएर अध्ययन गरेको थियो । अध्ययनले नेपालमा थप एक पुनर्बीमा कम्पनीको आवश्यकता देखाएको थियो । त्यसपछि समितिले नयाँ पुनर्बीमा कम्पनीको स्थापना प्रक्रिया अगाडि बढाएको समाचार आजको आर्थिक अभियानले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij