पोखरा । पोखरा महानगरपालिकाले महानगरका ३३ वटै वडामा भू–उपयोग वर्गीकरणको काम सम्पन्न गरेसँगै जग्गाको कित्ताकाट खुला भएको छ। महानगरपालिकाका अनुसार करिब सात लाख कित्ताको भू–उपयोग वर्गीकरण गरी कार्यान्वयनका लागि सम्बन्धित कार्यालयमा पठाइएको छ।
महानगर प्रमुख धनराज आचार्यका अनुसार भू–उपयोग ऐन, २०७६ तथा भू–उपयोग नियमावली, २०७९ बमोजिम भू–उपयोग वर्गीकरण विवरण तयार गरिएको हो।
महानगरपालिकाको भू–उपयोग परिषद्को सिफारिस तथा नगर कार्यपालिकाको निर्णयअनुसार तयार गरिएको वर्गीकरण विवरण स्थानीय राजपत्रमा समेत प्रकाशित भइसकेको छ।
महानगरपालिकाले वर्गीकरण विवरणका आधारमा प्रचलित कानुनबमोजिम भूमि प्रशासन तथा नापीसम्बन्धी अभिलेख, नक्सा र अन्य आवश्यक कार्य अघि बढाउन जिल्लास्थित भूमि प्रशासन तथा नापी कार्यालयलाई पत्राचार गरेको जनाएको छ।
त्यस्तै, सम्बन्धित कार्यालयबाट हुने जग्गा प्रशासन, कित्ताकाट, नक्सा तथा अभिलेखसम्बन्धी कार्यमा आवश्यक समन्वय गर्न समेत महानगरपालिकाले आग्रह गरेको छ।
भू–उपयोग वर्गीकरण सम्पन्न भएसँगै कित्ताकाट, जग्गा कारोबारलगायतका काममा नागरिकलाई सहजता हुने महानगर प्रमुख आचार्यले बताए। उनका अनुसार वर्गीकरणपछि जग्गासम्बन्धी प्रशासनिक प्रक्रिया थप व्यवस्थित र सहज हुने अपेक्षा गरिएको छ।