ई–आर्थिक, काठमाडौं । बैंकहरूले ५० हजार भन्दा मुनि खाताबाट रकम झिक्ने र नगद जम्मा गर्न बन्द गर्ने भएका छन् । नेपाल बैंकर्स संघको बैठकले कोरोनाको कहरबीच सुरक्षित तरिकाले विद्युतीय कारोवार गर्न नागरिकलाई आग्रह गरेको छ । बैठकपछि संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘डिजिटल बैंकिङ प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेलमार्फत सम्पर्क गर्न सकिने छ ।’
यस्तै बैंकका सबै एटिएम खुला रहनाका साथै बैंकका कल सेन्टरसमेत कार्यालय समयभर उपलब्ध हुने जानकारी विज्ञप्तीमार्फत दिएको छ । ग्राहकको स्वास्थ्यलाई ध्यानमा राख्दै शाखामा भीडभाड नगर्न तथा जोखिम कम गर्न निषेधाज्ञा अवधिभरका लागि बैंकका शाखामार्फत केही सेवा भने निरनतर रहने संघले जनाएको छ ।
त्यसैगरी रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तरराष्ट्रिय व्यापारका लागि आवश्यक सहजीकरण गरिने जनाइएको छ । संघले घरबाटै कारोवार गर्न तथा आफू र अरुलाई पनि सुरक्षित राख्न आग्रह गरेको छ ।