२०८३ साउन ९ शनिबार

एन आई सी एशिया बैंकद्वारा प्रिपेड डलर कार्ड सार्वजनिक

ई आर्थिक    बुधबार, चैत्र १८ २०७७
7.4K
Shares
एन आई सी एशिया बैंकद्वारा प्रिपेड डलर कार्ड सार्वजनिक

ई–आर्थिक, काठमाडौं । नवीनतम सेवा तथा सुविधा सहित गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशिया बैंकले विभिन्न विदेशी अनलाईन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ ।

नेपाल राष्ट्र बैंकद्वारा जारी ‘अनलाईमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने सम्बन्धी सूचना’ लाई मध्यनजर गर्दै यस बैंकले अमेरिकी डलरमा आधारित प्रिपेड कार्डको व्यवस्था गरेको हो । भिसा कार्डमा आधारित हुने यस कार्डमार्फत ग्राहक महानुभावहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलर बराबरको अनलाईन किनमेल गरी भारत र भुटान बाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सकिने भएको बैंकले जानकारी दिएको छ ।

कार्ड प्राप्त गर्नका लागि ग्राहक महानुभावहरूको केवाइसी विवरण अद्यावधिक गरिएको खातासँगै प्यान कार्ड हुनुपर्नेछ । यस सुविधामार्फत ग्राहक महानुभावहरूले स्वदेशमै रहेर पनि प्रतिष्ठित अन्तर्राष्ट्रिय ई–कमर्श प्लाटफर्म मार्फत किनमेल गर्न सहज हुने बैंकले विश्वास लिएको छ । उक्त कार्ड जारी गर्दा बैंकले कार्ड शुल्क वापत निश्चित रकम लिनेछ भने पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था समेत गरेको छ । ग्राहक महानुभावहरूले एकैपटक वा पटक–पटक गरी एक वर्षमा अधिकतम ५ सय अमेरिकी डलर बराबर सटही गरी कार्डमा लोड गर्न सक्नुहुने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

२२ लाख भन्दा बढी ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेको बैंकको भनाई छ ।

उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ६५ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij