२०८३ साउन ९ शनिबार

सडक सञ्जालमा जोडिए दैलेख र कालीकोट

ई आर्थिक    मंगलबार, माघ १३ २०७७
6.8K
Shares
सडक सञ्जालमा जोडिए दैलेख र कालीकोट

मान्म, माघ १३ गते । दैलेखको भैरवी गाउँपालिका र कालीकोटको शुभकालिका गाउँपालिका सडक सञ्जालमा जोडिएका छन् । दैलेखको माथिल्लो डङ्गेश्वर, दुल्लु, डाँडमाडी, ब्याउली हुँदै कालीकोटको सेरी पान्तडी सडकअन्तर्गत यी दुई जिल्ला सडक सञ्जालले जोडिएको हो । सुर्खेतको वीरेन्द्रनगर, दैलेखको माथिल्लो डुङ्गेश्वर, बैंकमालिका, दुल्लु कुसापानी ब्याउली हुँदै कालीकोटको शुभकालिका–६ को मेहेले लेक, सेरी पान्तडीकाट जुम्ला, मुगु हुँदै नेपालको उत्तरी नाका चीनसम्म यो सडक निर्माण गर्ने लक्ष्य राखिएको छ । सो सडकखण्डको पहिलो चरणअन्तर्गत कालीकोट सीमासम्म सडक निर्माण भएको दैलेख भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताउनुभयो ।

“दैलेखको तल्लो डुङ्गेश्वरबाट कालीकोटको सेरी पान्तडीको कर्णाली राजमार्गमा गएर यो सडक जोडिनेछ”, उहाँले भन्नुभयो, “५६ किलोमिटर लम्वाइ रहेको यो सडक निर्माण भए नेपालको उत्तरी सीमा चीन जोडिनका लागि छोटो सडक सञ्जाल हुनेछ ।”

दैलेख सडकखण्डको काम पूरा भएर कालीकोटको सीमासम्म सडक सञ्जाल छोइसकेको कालीकोट शुभकालिका गाउँपालिकाका अध्यक्ष खडानन्द चौलागाइँले बताउनुभयो । “कालीकोट सडकखण्डको निर्माणका लागि ठेक्का भइसकेको छ”, उहाँले भन्नुभयो, “वैशाखसम्म यो सडकखण्डको पूर्ण ट्र्याक खुल्नेछ ।” सडक निर्माणले सुर्खेत वीरेन्द्रनगरबाट मुगुको राराताल, जुम्ला पुग्नका लागि उत्तरी छिमेकी चीन जोड्ने छोटो मार्ग हुने दैलेख भैरवी गाउँपालिकाका अध्यक्ष बुढाले जानकारी दिनुभयो । “यो पुरानो बाटो हिँड्ने मार्ग पनि हो”, उहाँले भन्नुभयो, “यही बाटो भएर दैलेख, कालीकोट, जुम्ला, मुगु र हुम्लाका बासिन्दाले सुर्खेत वीरेन्द्रनगर र बाँकेको नेपालगञ्जसम्म जाने गरेका थिए ।” रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij