भारतमा एक करोडभन्दा धेरै मानिसलाई कोरोनाभाइरसको सङ्क्रमण भइसकेको छ
नयाँ दिल्ली : यूकेमा यही महिनाको सुरुमा पहिलोपटक पत्ता लागेको नयाँ प्रकारको कोरोनाभाइरसबाट ६ जना भारतीय पनि सङ्क्रमित भएको पुष्टि गरिएको छ । ती सबैजना हालसालै यूकेबाट फर्किएका थिए ।
भारत सरकारका अनुसार उनीहरूलाई स्वास्थ्य केन्द्रहरूमा एकान्तवासमा राखिएको छ र उनीहरूको निकट सम्पर्कमा आएकाहरूको जाँच गरिँदै छ।
यूकेसँगको विमानसेवामा रोक
भारतले गत साता नै कैयन् अन्य देशजस्तै यूकेबाट विमानसेवामार्फत् आवतजावतमा रोक लगाएको थियो । यो नयाँ प्रकारको कोरोनाभाइरस पुरानोभन्दा धेरै सङ्क्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन् ।
एक करोडभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमितहरू फेला परिसकेको भारत त्यस मामिलामा विश्वमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।यूकेबाट आएका यात्रुहरूलाई सबै विमानस्थलमा पीसीआर परीक्षण गरिने सरकारी अधिकारीहरूले बताउने गरेका छन्।
तिनमा कोरोनाभाइरस पुष्टि भएमा ती नमुनाहरूलाई सरकारी प्रयोगशालामा आनुवंशिक परीक्षण गरेर कुन प्रकारको हो भनेर पत्ता लगाइन्छ ।
गत एक महिनामा यूकेबाट ३३,००० मानिस भारत आएको आँकडा छ। तीमध्ये ११४ जना पोजिटिभ पाइएको र तिनको नमुनाको थप परीक्षण भइरहेको बताइएको छ । क्यानडा जापान, स्पेन, स्वीडेन तथा फ्रान्समा पनि नयाँ प्रकारको कोरोनाभाइरस भेटिएको छ ।
यूकेमा केही समययता सङ्क्रमण निकै तेज गतिमा फैलिरहेको भन्दै त्यहाँका अधिकारीहरूले चिन्ता व्यक्त गरिरहेका छन्
सोमवार त्यहाँ ४१,३८५ जनामा सङ्क्रमण पुष्टि भएको थियो भने ३५७ जनाको ज्यान गएको थियो ।
नयाँसँग डर
“यो नयाँ प्रकारको भाइरसले बरबाद पार्न सक्छ र हाम्रा स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त पारिदिन सक्छ,” भारतमा सयौँ कोरोनाभाइरसका बिरामीको हेरचाह गरिसकेका सघन उपचार विशेषज्ञ डा ए फताहुद्दीनले बीबीसीलाई बताए ।
नयाँ प्रकारको कोरोनाभाइरस सुरुमा सेप्टेम्बरमा इङ्ग्ल्यान्डमा देखा परेको थियो। केही सातायता लन्डन, अनि पूर्वी एवम् दक्षिणपूर्वी इङ्ग्ल्यान्डमा सङ्क्रमणको दर बढ्नुमा यसैलाई दोष दिइएको छ ।
नयाँ प्रकारको भाइरसप्रति धेरै चासो बढ्नुमा तीनवटा कारण अघि सारिएका छन् :
- यसले अरू प्रकारका कोरोनाभाइरसलाई तीव्र गतिमा विस्थापित गरिरहेको छ
- यसमा देखिएको उत्परिवर्तनले भाइरसको महत्त्वपूर्ण मानिएका भागमा परिवर्तन गरेको छ
- प्रयोगशालामा गरिएका परीक्षण यस्ता केही उत्परिवर्तनले मानवको शरीरमा हुने कोषमा सङ्क्रमण गराउन भाइरसलाई थप सहज हुने देखिएको छ ।
यिनै कारणहरूले गर्दा भाइरसप्रति चिन्ता र चासो बढिरहेको बीबीसीका स्वास्थ्य एवं विज्ञान संवाददाता जेम्स ग्यालहरले बताएका छन्।
तर यो नयाँ प्रकारको भाइरस थप घातक भएको कुनै प्रमाण छैन । साथै विज्ञहरूका अनुसार हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्धपनि उत्तिकै प्रभावकारी हुने ठानिएको समाचार बीबीसीले लेखेको छ ।