ई–आर्थिक, काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा हिरासतमा रहेकी बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई बुधबार जमानत मिलेको छ । बम्बई हाईकोर्टबाट उनलाई जमानत मिलेको हो । रियासँगै हिरासतमा रहेका रियाका भाइ शौविक चक्रवर्तीको जमानत अपिल भने अदालतले खारेज गरिदिएको छ । हाईकोर्टले सुशान्त सिंहको घरमा काम गर्ने सैमुअल मिरान्डा र दिपेश सावन्तलाई पनि जमानत दिएको छ ।
यसअघि मंगलबार विशेष अदालतले नारकोटिक्स एण्ड साइकोट्रोपिक सब्सटेन्स एक्टका अनुसार रिया चक्रवर्तीको न्यायीक हिरासतको समय अक्टूबर २० सम्म बढाएको थियो । रियासँगै भाई शौविकलाई सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा कथित ड्रग्स एंगलका विषयमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले गिरफ्तार गरेको थियो ।
अदालतको आदेश अनुसार रियाले ग्रेटर मुम्बई भन्दा बाहिर जानका लागि शर्त तोकिएको छ । उनले ग्रेटर मुम्बईभन्दा बाहिर जानका लागि अनुसन्धान अधिकृतलाई जानकारी दिनु पर्ने बताइएको छ ।
उनलाई आफ्नो पासपोर्ट पनि बुझाउन भनिएको छ भने अदालतको आदेश बिना देशभन्दा बाहिर जान पाइने छैन ।