ई–आर्थिक, काठमाडौं । अमेरिकामा विश्वकै एक चौथाइ सङ्क्रमित भेटिएको तथा सङ्क्रमणको दर तीव्र बन्दै गर्दा ट्रम्प प्रशासन भने विद्यालयहरू पुन: खोल्ने योजना अघि बढाउन चाहन्छ जसले विवाद निम्त्याएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकाहरूको सङ्ख्या ३० लाख नाघेको छ ।
साथै एक लाख ३१ हजारभन्दा धेरै मानिसले कोभिड-१९ का कारण त्यहाँ ज्यान गुमाइसकेका छन् । मङ्गलवार अमेरिकामा एकैदिन सबैभन्दा धेरै नयाँ सङ्क्रमित पुष्टि भएको थियो – ६० हजारभन्दा धेरै ।
के चाहन्छ ट्रम्प प्रशासन ?
ह्वाइट हाउसको कोरोनाभाइरस कार्यदलको नेतृत्व गर्दै आएका उपराष्ट्रपति माइक पेन्सले अब बालबालिकालाई विद्यालय पठाउने बेला आएको बताए। उनले नियमहरू धेरै कडा हुन नहुने बताए ।
उनले सङ्क्रमणका मामिला स्थिर हुँदै गएको भनेका छन् भने राष्ट्रपति ट्रम्पले कोरोनाभाइरसलाई लिएर अमेरिका ‘राम्रो स्थान’मा रहेको बताएका छन् ।
मङ्गलवार अमेरिकामा ६० हजारभन्दा धेरै नयाँ सङ्क्रमण पुष्टि भएका थिए जुन यसअघि जुलाई २ मा कायम ५५ हजारको कीर्तिमानभन्दा धेरै छ । क्यालिफोर्निया तथा टेक्सस राज्य दुबैमा १० हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् ।
सङ्क्रामक रोगसम्बन्धी विशेषज्ञ तथा ह्वाइट हाउसका सल्लाहकार डा. एन्थोनी फाउचीले अमेरिका कोरोनाभाइरसको सङ्क्रमणको पहिलो लहरमै अहिलेपनि ‘घुँडासम्म डुबेको’ बताएका छन् ।
उपराष्ट्रपति किन आशावादी ?
बुधवार अमेरिकाको शिक्षा मन्त्रालयमा उपस्थित पत्रकारहरूलाई सम्बोधन गर्दै उपराष्ट्रपति पेन्सले ट्रम्प प्रशासनका कार्यहरूको बचाउ गरे ।
“हाम्रा स्वास्थ्यसेवामा लागिपरेका कर्मचारीको असाधारण कामका कारण औसत मृत्युदरमा आइरहेको कमीले हामी उत्साहित भएका छौँ,” उनले भने ।

राष्ट्रपति डोनल्ड ट्रम्पले सेन्टर फर डिजिज कन्ट्रोल (सीडिसी)ले आधिकारिक सुझावको रूपमा स्कूलहरूका निम्ति जारी गरेको निर्देशिकालाई कठिन, महङ्गो र अव्यवहारिक भनेर निन्दा गरेका छन्। त्यसको केही समयमै नयाँ निर्देशिका जारी गरिने बताइयो ।
उनले शरद याममा नखुल्ने विद्यालयलाई सरकारी सहयोग कटौती गरिदिने धम्की पनि दिए। अमेरिकामा सामान्यतया अगस्ट वा सेप्टेम्बरको सुरुमा शैक्षिक सत्र सुरु हुन्छ ।
यसअघि सीडिसीले जारी गरेको निर्देशिकामा विद्यार्थी तथा कर्मचारीले मास्क लगाउनु पर्ने र आवश्यक परे घरमै रहनुपर्ने उल्लेख थियो । साथै विद्यालयहरूले लचिलो कार्य समय लागु गर्दै सामाजिक दूरी कायम गर्नुपर्ने उल्लेख थियो ।
ह्वाइट हाउसकी प्रेस सचिव केले मकइनानीले राष्ट्रपति ट्रम्पले विद्यार्थीहरू सुरक्षित रहुन् भन्ने चाहेको बताइन् । अर्थतन्त्र तथा विद्यालय खोल्ने विषयमा राष्ट्रपति ट्रम्प तथा उनका स्वास्थ्य सल्लाहकारबीच भिन्नता बढ्दो देखिएको छ । बीबीसीबाट