२०८३ साउन ९ शनिबार

काठमाडौँ उपत्यका छाड्ने बढ्दै

ई आर्थिक    शुक्रबार, चैत्र ७ २०७६
5.3K
Shares
काठमाडौँ उपत्यका छाड्ने बढ्दै

ई आर्थिक, काठमाडौं। कोरोना भाइरसका कारण उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा वुद्धि भएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनयता काठमाडौँ भित्रिने भन्दा बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्गलबारदेखि बिहीबारसम्म तीन दिनमा झण्डै तीन लाखले उपत्यका छाडेका छन् ।

महाशाखाले तीन दिनमा दुई लाख ९५ हजार ५२१ जनाले उपत्यका छाडेका जनाएको छ । महाशाखाका अनुसार सरकारले स्कुल÷कलेज बन्द तथा बढी भिडभाड हुने स्थानमा २५ जनाभन्दा बढी भेला नगर्न निर्देशन दिएसगैँ उपत्यका छाड्नेको सङ्ख्यामा वृद्धि भएको हो ।

सबैभन्दा धेरै बिहीबार एकैदिन काठमाडौँ उपत्यकाबाट एक लाख ८ हजार ४५८ मानिस विभिन्न नाकाबाट १८ हजार ५५४ वटा सवारी साधनबाट बाहिरिएका छन् । बुधबारको तुलनामा बिहीबार भने उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा केही कमी आएको छ । बिहीबार ८३ हजार १३९ मानिससँगै १५ हजार १४० सवारी साधन भित्रिएका थिए ।

ट्राफिक प्रहरीका अनुसार बुधबार ९५ हजार २४७ जनाले काठमाडौँं छाडे भने विभिन्न जिल्लाबाट ९८ हजार ९३४ जना प्रवेश गरेका छन् । त्यस्तै मङ्गलबार ९१ हजार ८१६ जनाले काठमाडौँ छाड्दा ९० हजार २३० जना प्रवेश गरेका थिए ।

केही दिनअघिसम्म काठमाडौँ छाड्नेभन्दा काठमाडौँ भित्रिनेको सङ्ख्या बढी हुने गरे पनि पछिल्ला दिन कोरोनाको बढ्दो त्रासका कारण काठमाडौँ छाड्नेको सङ्ख्या बढी देखिएको छ ।

बुधबार बसेको कोभिड–१८ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सिनेमाहल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम स्विमिङ पुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लबलगायत बढी भिडभाड हुने क्षेत्रलाई बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij