२०८३ साउन ९ शनिबार

उपप्रधानमन्त्रीद्वारा हेलिकोप्टरबाटै कालापानी क्षेत्रको निरीक्षण, हिमपातका कारण ल्याण्ड हुन सकेन

ई आर्थिक    सोमबार, फाल्गुन ५ २०७६
3.6K
Shares
उपप्रधानमन्त्रीद्वारा हेलिकोप्टरबाटै कालापानी क्षेत्रको निरीक्षण, हिमपातका कारण ल्याण्ड हुन सकेन

ई–आर्थिक, दार्चुला। जिल्ला सदरमुकाम खलङ्गाबाट आज बिहान कालापानी क्षेत्रको निरीक्षण भ्रमणमा निस्कनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेल हवाई निरीक्षण गरेर फर्किनुभएको छ । व्यास क्षेत्रमा हेलिकोप्टर अवतरण गर्न बाक्लो हिउँ जमेका कारण हवाई निरीक्षण गरेरै फर्किनुभएको हो ।

त्यस क्षेत्रमा बाक्लो हिउँ परेका कारण हेलिकोप्टरबाटै अतिक्रमित क्षेत्रको निरीक्षण गरेर फर्किएको टोलीमा सहभागी सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी बडालले बताउनुभयो । “हेलिकोप्टर ल्यान्ड हुने अवस्था भएन”, उहाँले भन्नुभयो, “हेलिकोप्टरबाटै भारतीय भारतले अतिक्रमण गरेको क्षेत्र हेरियो ।”

भारतले तीन–तीन किलोमिटर क्षेत्रमा राखेका सुरक्षा पोष्ट देखाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रोतिर निकट भविष्यमै सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बिओपी) राख्ने प्रस्तावित स्थलसमेत देखाइएको छ ।” सीमा निरीक्षणमा उपप्रधानमन्त्री पोखरेलका साथमा सांसद गणेशसिंह ठगुन्ना, प्रदेशसभा सदस्यद्वय मानबहादुर धामी र गेल्बुसिंह बोहरा तथा उपप्रधानमन्त्रीका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठलगायत १० जनाको टोली सहभागी थियो ।

कालापानीमा सेना राख्दै आएको भारतले पछिल्लो समय आफ्नो नक्सामा समेटेपछि नेपाल र भारतबीच विवाद रहेको छ । नेपालले उक्त भूमि कुनै हालतमा फिर्ता ल्याउने बताउँदै आएको छ । सीमा क्षेत्र निरीक्षणपछि सदरमुकाम खलङ्गामा प्रेस सङ्गठन नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा रक्षामन्त्रीसमेत रहनुभएका पोखरेलले नेपालका सीमा क्षेत्रमा क्रमशः सुरक्षा पोष्टहरु थपिँदै जाने बताउनुभयो । उहाँले व्यासमा सशस्त्र प्रहरी राख्ने निर्णय भइसकेकाले त्यस क्षेत्रमा बाह्रैमास सुरक्षाकर्मीको उपस्थिति रहने बताउनुभयो ।

“भारतसँग सीमाको विषयमा सरकारले कुराकानी गर्छ”, रक्षामन्त्री पोखरेलले भन्नुभयो, “सुगौली सन्धिपछि नेपाल सरकारले भारतलाई डेप्लोमेटिक नोट लेखेको यो पहिलोपटक हो, हामी भारतसँग सीमाको विषयमा आँखा जुधाएरै छलफल गर्छौं, कुरामात्र हैन, नेपालको भूमि भएको तथ्यसहित बुझ्ने गरी बुझाउँछौँ ।”

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij