ई–आर्थिक, काठमाडौं : सेवा सुविधामा विभेद गरिएको भन्दै नेपाल एयरलाइन्सका २५ जना पाइलटले सामूहिक राजिनामा दिएका छन् । उनीहरुले नेपाल एयरलाइन्सको व्यवस्थापन समक्ष बिहीबार साँझ राजीनामा बुझाएका हुन् । सामूहिक राजीनामा दिने पाइलटहरुले काम बढी नेपालीलाई र सुविधा बढी विदेशीलाई दिएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए ।
विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै तीन महिनाको समयसीमा दिँदै राजीनामा दिएको पाइलटहरुले जानकारी दिएका छन् । नेपाल एयरलाइन्समा विदेशी पाइलटले चोखो १५ लाख तलब बुझ्दै आएका छन् भने नेपालीले ५ लाख तलब बुझ्ने गरेको ती पाइलटहरुले जानकारी दिएका छन् । सामूहिक राजिनामा दिने पाइलटले उक्त तलबमा पनि पछिल्लो समय बिना जानकारी एक लाख काट्ने गरिएको बताएका छन् ।
‘काममा पनि विभेद, तलबमा पनि विभेद’ राजीनामाको मूख्य कारण भएको उनीहरुको भनाई छ । विदेशी पाइलटको सरकारले आफैंले कर तिरिदिने गरेको र नेपाली पाइलटहरूले भने आफैंले कर तिरिरहेको उनीहरुले बताएका छन् । यो चरम विभेदका विषयमा पाइलटहरुले लामो समयदेखि कुरा उठाउँदै आएको थिए । लामो समयसम्म पनि विभेदमा केही सु्नुवाई नभएपछि बाध्य भएर राजीनामा दिनु परेको उनीहरुले बताएका छन् । सो एयरलाइन्समा रहेका बाँकी १५ जना पाइलटले पनि राजीनामा दिने तयारी भइरहेकोे उनीहरुको भनाई छ । अहिले विदेशी पाइलटले ४६ घण्टा र नेपाली पाइलटले ९८ घण्टा काम गर्दै आएका छन् ।

पाइलटहरुले व्यवस्थापनलाई तीन महिनाको समयमा नेपाली पाइलटलाई तालिम दिएर सबै विदेशी पाइलट विस्थापन गर्ने वा नेपाली पाइलटले दिएको राजीनामामा स्वीकृत गरेर सबै करारमै लिएर काम चलाउने विकल्प अघि सारेका छन् । तर उनीहरुको सामूहिक राजिनामा यो विषयमा व्यवस्थापनले कुनै सुनावाई नहुने संकेत गरेको छ ।
निगमका निमित्त कार्यकारी अध्यक्ष गणेशबहादुर चन्दले पाइलटहरुले अल्टिमेटमसहितको पत्र निगम कार्यालयमा दर्ता गराएको पुष्टि गरे । पाइलटहरुको मागका विषयमा कुनै ठोस कदम उठाउन सकिने अवस्था नरहेको पनि उनले जानकारी दिए ।