ई–आर्थिक, काठमाडौं । निजी क्षेत्रको दुरसन्चार कम्पनी एनसेलले अब तिर्न बाँकी रहेको १८ अर्ब २३ करोड रुपैयाँ किस्तामा तिर्ने ब्यबस्था मिलाई दिन आग्रह गरेको छ । एनसेलले तिर्नुपर्ने कुल २२ अर्ब ४४ करोड पुँजीगत लाभकर रकम एकै पटक तिर्न समस्या हुने जनाउँदै चार किस्तामा तिर्ने ब्यबस्था मिलाई दिन भनेको हो ।
ठूला करदाता कार्यालयमा निबेदन गरी यस्तो प्रस्ताब राखेको बताइएको छ । कमपनीले तिर्न पर्नेमध्ये २० प्रतिशत रकम भने तिरिसकेको छ । ठूलो करदाता कार्यालयले शेयर बिक्री गरेबापत ठूलो रकम लाभकर तिर्न पत्रचार गरेपछि त्यसको बिरुद्ध एनसेल अदालत गएको थियो । अदालतले सुनुवाई गर्दै करिब साढे २२ अर्ब मात्र लाभकर तिरे हुने फैसला गरेको थियो । लाभकार बिबाद अदालतबाट टुंगिएपछि करदाता कार्यालयले उक्त रकम तिर्न पुनः पत्राचार गरेपछि एनसेलले पहिलो पटक २० प्रतिशत रकम तिरेको हो ।
बिबादले लामो समयसम्म पुँजीगत लाभकर तिर्न र असुल गर्न समस्या परेको थियो । अब तिर्न बाँकी रकम प्रत्येक महिनाको मसान्तमा बुझाउने प्रस्ताब एनसेलको छ । ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार कम्पनीले चार किस्तामा सबै रकम भुक्तानी गर्ने प्रस्ताबको निबेदन दिएको छ । तर यसबारेमा निर्णय नभएको उनले जानकारी दिए । अब उक्त निवेदनका विषयमा आन्तरिक राजस्व विभाग र अर्थ मन्त्रालयसँग समन्वय गरेर निर्णय उनको भनाई छ । कम्पनीले आयकर ऐन बमोजिम नै यस्तो प्रस्ताब गरेको जानकारी दिएको छ ।
आयकर ऐन २०५८ को दफा ११० ले करदातालाई किस्ताबन्दीको सुविधा माग गर्ने अधिकार दिएको छ । तर यस्तो सुविधा लिँदा थप ५ प्रतिशत ब्याज बुझाउनुपर्ने व्यवस्था पनि आयकर ऐनले गरेको छ । हाल तोकिएको कर रकमको प्रत्येक महिना १५ प्रतिशत ब्याज तिर्नुपर्ने र किस्ताबन्दीको माग स्वीकृत भएमा उक्त ब्याज २० प्रतिशत पुग्नेछ । यसरी चार महिनामा तिर्दा प्रत्येक महिना २३ करोड ब्याज लाग्नेछ । पाँच प्रतिशत थपिँदा उक्त ब्याज रकम २७ करोडसम्म हुनेछ ।