१ चैत, काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले मुनाफा रकममध्येबाट स्वीकृत चुक्ता पुँजीको ५१ प्रतिशतका दरले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको यहाँ आज सम्पन्न नवौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष ०७२-७३ को मुनाफा रकममध्येबाट स्वीकृत चुक्ता पुँजीको ५१ प्रतिशतका दरले सेयरधनीलाई नगद लाभांश वितरण तथा कम्पनीको नियमावलीमा संशोधन लगायतका विभिन्न प्रस्ताव पारित गरेको छ ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष एवम् सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले साधारणसभामा प्रतिवेदन पेस गर्दै कम्पनीले विगत वर्षमा जस्तै यस वर्ष पनि नेपालको दूरसञ्चार क्षेत्रको समग्र विकास र विस्तारमा उल्लेख्य योगदान पु-याएको बताउनुभयो ।
उहाँले गुणस्तरीय सेवा तथा सेवाको सहज उपलब्धतामार्फत आप्mनो बजार विस्तारलाई मजबुत गरिएको बताउँदै व्यावसायिक उद्देश्य हासिल गर्न कम्पनीले सेवाको सङ्ख्यात्मक विस्तार र गुणात्मक सुधार गर्न प्रतिबद्ध रहेको छ भन्नुभयो ।
सचिव गुरुङले आव ०७२-७३ मा सेवा विस्तार, सञ्चालन र वित्तीय दृष्टिकोणले उत्साहजनक रहेको जानकारी गराउँदै सो अवधिमा कुल राजस्वमा ३ दशमलव ६८ प्रतिशतले वृद्धिगरी खुद मुनाफा रु १३ अर्ब ६८ करोड कायम राख्न सफल भएको बताउनुभयो । गत आवको तुलनामा यो वर्ष १५ दशमलव ६५ प्रतिशतले ग्राहक सङ्ख्या वृद्धि भएको पनि उहाँले जानकारी दिनुभयो ।
सचिव गुरुङले कम्पनीलाई सक्षम र प्रतिस्पर्धी बनाई सेवाग्राहीले तिरेको सेवाको मूल्यलाई सन्तुष्टिमा परिणत गरिने बताउँदै रणनीतिक योजनालाई समयानुकूल बनाउने तथा आयोजनालाई समयमै सम्पन्न गर्न योजनाबद्ध रुपमा अघि बढिने धारणा व्यक्त गर्नुभयो ।
कम्पनीको लाभांश रकम आगामी चैत १ गते आजदेखि सेयरधनीलाई वितरण गरिने नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।
सेयरधनीले कहाँबाट लिने ?
त्यस्तै टेलिकमले सेयर बिक्री प्रवन्धक एनएमबी क्यापिटल नागपोखरी नक्सालबाट चैत २ गतेदेखि १३ गतेसम्म नगद लाभांश शेयरधनीहरुलाई वितरण गर्ने जनाएको हो । उसले यो समयमा संकलन गर्ने नभ्याउने सेयरधनीलाई भने चैत १५ गतेपछि वितरण गर्दे जाने बताएको छ । क्यापिटलले एनएमबि बैंकमा खाता रहेका सेयरधनीलाई भने उनिहरुकै बैंक खातामा मंगलबार देखि नै नगद जम्मा गरिदिने जनाएको छ ।