ई–आर्थिक, काठमाडौं : नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको समायोजन गरेको छ । समायोजन गरेको मूल्य अनुसार अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ घटेको नेपाल आयल निगमले जानकारी दिएको छ ।
संसोधित मूल्यअनुसार अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर एक हजार अमेरिकी डलर कायम गरिएको छ भने ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ३ सय ५० रुपैयाँ कायम भएको छ ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य केही घटाएको निगमले जानकारी दिएको छ । सेप्टेम्बर १ मा इन्डियन आयल कर्पोरेशनले पठाएको मूल्यअनुसार हवाई इन्धन र एलपी ग्यासको मूल्य घटेर आएको थियो । अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य घटेसँगै नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन थप टेवा पुग्ने निगमले विश्वास लिएको छ ।
डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भने यथावत राखिएको छ । निगमले भारतबाट पाइपलाइनबाट इन्धन भित्र्याउन शुरु गरेकै दिन डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको थियो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको समयमा जनतालाई राहत दिन ग्यासको मूल्य घटाइने बताएको केही समयमै मूल्य समायोजन भएको छ ।