बाढीका कारण भारतको दक्षिणी राज्य केरलामा जनजीवन व्यापक प्रभावित भएको बताइएको छ । केरलामा शनिबारपछि पनि वर्षा जारी रहने र यहाँको जनजीवन थप प्रभावित हुने अनुमानपछि केरलाका ग्रामीण बस्तीमा सैनिकका विभिन्न समूहलाई उद्धार इकाइ बनाई उद्धारमा लाग्न र विस्थापित नागरिकलाई खाद्यान्न तथा अत्यावश्यक सामग्री वितरण गर्न आवश्यक हेलिकोप्टर परिचालन गर्न सरकारले निर्देशन दिएको छ ।
‘केरलामा बिहीबारदेखि शनिबारसम्ममा कम्तीमा ४८ व्यक्तिको बाढी र पहिरोमा परी मृत्यु भएको छ । केरलाका पहाडी क्षेत्रमा रहेका रिसोर्ट तथा होटेलमा गर्मी छल्दै मनोरञ्जनका लागि पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरू पनि बाढीका कारण सडक अवरूद्ध हुँदा बाढीप्रभावित क्षेत्रमा फसेका बताइएको छ,’ प्रहरी प्रवक्ता प्रमोदकुमारले भने ।
केरलाको छिमेकी कर्नाटक राज्यमा पनि बर्षा र बाढीका कारण २४ जनाको मृत्यु भएको छ भने नौ जना बेपत्ता भएका छन् । भारतको पश्चिमी राज्य महाराष्ट्र र गुजरात पनि बार्षिक मनसुनी आँधीका कारण नराम्रोसँग प्रभावित बनेका छन् ।
कर्नाटकमा विभिन्न ६०० राहत केन्द्रमा करिब एक लाख ६१ हजार मानिस पुगेका बताइएको छ ।भारतीय सञ्चारमाध्यमले जनाएअनुसार महाराष्ट्रमा पनि २७ जनाले वर्षा, बाढी र डुबानका कारण ज्यान गुमाएका छन् ।यस्तै, गुजरातका अहमेदावाद र नादिआवादमा पनि वर्षाजन्य घटनाका कारण आठ जनाको मृत्यु भएको जानकारी छ ।
सबैभन्दा बढी प्रभावित केरला राज्यमा करिब १ लाख २० हजार व्यक्ति आपतकालीन राहत केन्द्र (शिविर)मा पुगेका बताइएको छ । ‘केरलाका करिब ८० स्थानमा वर्षापछि आएको बाढीका कारण पहिरो गएको बताइएको छ र त्यहाँ प्रहरी पुग्न सकेको छैन,’ प्रहरी प्रवक्ता प्रमोदकुमारले बताए ।
बाढी र पहिरोका कारण धेरै नागरिक प्रभावित भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त क्षेत्रमा राहत तथा उद्धारको कमी हुन नदिन सरकारी अधिकारीलाई निर्देशन दिएका छन् ।
यस्तै, प्रतिपक्षी नेता राहुल गान्धीको निर्वाचन क्षेत्रमा समेत बाढी र पहिरोले जनजीवन प्रभावित बनेपछि सरकारलाई प्रभावित नागरिकको उद्धार तथा राहतका लागि थप सक्रियता देखाउन आग्रह गरे ।
प्रहरी प्रवक्ताका अनुसारमा एक स्थानमा करिब २ सय जना फसेको सूचनापछि प्रहरीले उनीहरूसँग हेलिकोप्टरमार्फत पुग्ने प्रयास गरिरहेको छ । केरलामा गत वर्ष आएको बाढीमा कम्तीमा ५ सय जनाको मृत्यु भएको थियो । एजेन्सी