२०८३ साउन ९ शनिबार

टोस्टमास्टर्स लिडरशिप इन्स्टिट्युटद्वारा सञ्चालित निर्णायक क्षमता र नेतृत्व सम्बन्धी तालिम

ई आर्थिक    सोमबार, साउन १३ २०७६
5.7K
Shares
टोस्टमास्टर्स लिडरशिप इन्स्टिट्युटद्वारा सञ्चालित निर्णायक क्षमता र नेतृत्व सम्बन्धी तालिम

ई–आर्थिक, काठमाडौं । टोस्टमास्टर्स इन्टरनेशनलको अन्तर्राष्ट्रिय सञ्जाल अन्तर्गत नेपाल क्षेत्रसंग सम्बन्धित डिस्ट्रिक्ट ४१ ले मण्डिखाटारस्थित (पर्यटन र हस्पिटालिटि कलेज) ‘गेट’ मा आयोजित कार्यक्रममा टोस्टमास्टर्स लिडरशिप इन्स्टिच्युटको विधिवत् उद्घाटन सम्पन्न भयो । उक्त इन्स्टिच्युटले टोस्टमास्टर्सको माध्यमबाट सदस्यहरुले विकास गरेको सिप र क्षमतालाई थप प्रखर र प्रभावकारी बनाउन मद्दत गर्नेछ ।

सोहि अवसरमा निर्णायक शिप (जज) र नेतृत्व क्षमता विकास सम्बन्धी तालिम समेत आयोजना गरिएको थियो । नेपालमा स्थापित भै सञ्चालनमा रहेका १९ वटा क्लबका झण्डै २०० प्रतिनिधिहरूको तालिममा सकृय सहभागिता रहेको थियो ।

विश्वव्यापी रूपमा क्लब सञ्जाल रहेको टोस्टमास्टर्स ले व्यावहारिक अभ्यास तथा परस्परको उत्प्रेरणाको माध्यमबाट सदस्यहरूको बोल्ने कला र नेतृत्व क्षमताको विकास गर्ने गरेको छ । आजको परिप्रेक्ष्यमा वाचन क्षमता र नेतृत्व क्षमताको व्यक्तिगत र पेशागत जीवनमा ठूलो महत्व राख्छन् र सफलताको कारक तत्व बन्न सक्छन् । यसैले टोस्टमास्टर्स इन्टरनेशनलका सदस्यहरूले क्लबमा गरेको अभ्यास मार्फत विकास गरेको सिपलाई सदस्यहरुले आफ्नो नीजि तथा पेशागत जीवनमा सफलता हाँसिल गर्नको लागि प्रयोग गर्दै आएका छन् ।

माथि उल्लेखित तालिम मध्ये नेतृत्व क्षमता सम्बन्धी तालिम क्लबहरूको कार्यसमिति (एक्जिक्युटिव कमिटि) का पदाधिकारीहरूको लागि सञ्चालित गरिएको थियो भने निर्णायक क्षमता सम्बन्धी तालिम सबै इच्छुक सदस्यहरूको लागि सञ्चालित गरिएको थियो ।
तालिमको लागि भारत र नेपालका वरिष्ठ टोस्टमास्टरहरूले प्रशिक्षक रूपमा योगदान दिनुभएको थियो । भारतबाट नीरज गुप्ता आएका थिए भने नेपालका बरिष्ठ टोस्टमास्टरद्वय रन्जित आचार्य र सुमन शाक्यले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

तालिमका क्रममा प्रशिक्षक, प्रशिक्षार्थी तथा अन्य सहभागी सबैले टोस्टमास्टर समुदायको मित्रवत् सिक्ने सिकाउने परिपाटिको बारेमा आ–आफ्ना धारणाहरू समेत व्यक्त गरेका थिए ।

सो अवसरमा बोल्दै प्रशिक्षक तथा डिस्ट्रिक्ट ४१ का पार्लियामेन्टेरियन नीरज गुप्ताले नेपालको टोस्टमास्टर्स समुदायको द्रुत विस्तारमा खुशी प्रकट गरे । जज तालिमको महत्वमा जोड दिदै उनले भने, ‘जजको काम मूल्याङ्कन गर्ने र सुझाव दिने भन्दा फरक कुरा हो । जजले नितान्त निस्पक्ष र वस्तुगत रुपमा आफ्नो निर्णय दिनुपर्ने हुन्छ ।’ यस तालिमले अन्तर्राष्ट्रिय रुपमा आयोजित हुने प्रतियोगितामा आवश्यक हुने प्रकारको क्षमता विकास हुने हिसावले तालिमको सञ्चालन गरिएको जानकारी दिए ।

त्यसैगरी प्रशिक्षक एवम् नेपालका अग्रणी टोस्टमास्टर रन्जित आचार्यले नेपालमा पहिलोपटक यस्तो प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न पाएकोमा खुशी प्रकट गर्दै भन्नु भयो, ‘नेपालले यस किसिमको कार्यक्रममा नेतृत्व लिएको छ र यसबाट नेपालका टोस्टमास्टरहरुले पनि विश्वस्तरको कार्यक्रममा नेतृत्व लिन सक्छन भन्ने कुराको पुष्टि भएको छ ।’

प्रशिक्षक एवम् नेपालका अर्का अग्रणी टोस्टमास्टर सुमन शाक्यले प्रशिक्षणको महत्त्व तथा यसबाट प्रशिक्षार्थीलाई हुने फाइदाको बारेमा प्रकाश पार्दै भन्नुभयो, ‘टोस्टमास्टर्स कार्यक्रममा मा सम्मिलित भएर आफ्नो क्षमता विकास गर्ने व्यक्तिहरुको थप विकास र क्षमता अभिवृद्धिमा यस्तो तालिमको धेरै ठूलो भूमिका हुन्छ। हालका दिनहरुमा भएको विस्तारले हामीलाई नेपालमा १०० भन्दा बढि क्लबहरु हुन सक्छन् भन्ने विश्वास दिलाएको छ । यस्तो द्रुत विस्तारको सन्दर्भमा पनि यस प्रकारको तालिम र जमघटको कार्यक्रमहरुको झन बढि महत्व र उपयोगिता हुन्छ ।’

सोहि अवसरमा उक्त इन्स्टिच्युटले टोस्टमास्टर्सको डिभिजन ’ए’ को प्रयासमा मेन्टरिङ्ग र मुल्याङ्कन सम्बन्धी कार्यक्रमको पनि प्रारम्भ ग¥यो ।

त्यसैगरी नेपालको टोस्टमास्टर्स समुदायको गतिविधिमा केन्द्रित वेबसाइट त्यबकतmबकतभचकल्भउब।ियचन को पनि शुभारम्भ गरियो । यस समुदाय को गतिविधि सँग सम्बन्धित समाचार, लेख, अनुभव, ब्लग तथा अन्य जानकारी मूलक सामग्रीहरु उक्त वेबसाइटबाट प्रकाशन गरिने कार्यक्रम रहेको छ ।

कार्यक्रममा नेपालमा कुल १९ वटा क्लबहरु रहेको र तिनलाई हरेक एरियामा कम्तिमा तीन क्लब सहित ६ बटा एरियामा बिभाजन गरिएको जानकारि दिइएको थियो । १९ वटा क्लबहरु मा धरान र पोखरा का क्लबहरु पनि सम्मिलित छन र छिट्टै बिराटनगर, बिर्तामोड, बुटवल लगायतका अन्य शहरहरुमा पनि नया क्लबहरु स्थापना हुने क्रममा रहेको जानकारी समेत गराइएको थियो ।

अत्यन्त सकारात्मक र उल्लासमय वातावरणमा सञ्चालन गरिएको सो कार्यक्रमका सहभागीहरुले सञ्चालित तालिम र अन्य कार्यक्रम अत्यन्त उपयोगी रहेको र आफ्नो टोस्टमास्टर जीवन र समग्र व्यक्तिगत जीवनमा समेत ठुलो लाभ पुग्ने विश्वास प्रकट गर्नुभएको थियो ।

टोस्टमास्टर्स इन्टरनेशनल कस्तो कार्यक्रम हो ?
वाचन कला तथा नेतृत्व क्षमता विकासको क्षेत्रमा विश्वकै अग्रणी कार्यक्रमको रूपमा टोस्टमास्टर्स कार्यक्रम परिचित छ । संसारभरका १४३ देशमा रहेका १६ हजार ६ सय भन्दा बढी क्लबमा आवद्ध सदस्यहरूको संख्या ३ लाख ५७ हजार भन्दा बढी छ ।

समाजमा नेतृत्वको भूमिका रहन्छ र सबल नेतृत्व क्षमता भएका व्यक्तिहरूले आफ्नो परिवार, समाज, कार्यक्षेत्र र देशलाई नै सक्षम रूपमा अगाडि बढाउन ठूलो भूमिका खेल्न सक्छन् । उनिहरूले सम्बन्धित सबैलाई प्रेरणादायी र सकारात्मक रूपले अगाडि बढ्न, उत्पादकत्व विकास गर्न र समग्र रूपमा आफ्नो जीवनलाई बढी उपलब्धिपूर्ण बनाउन उत्प्रेरक र पथप्रदर्शकको भूमिका खेल्न सक्छन् । टोस्टमास्टर्स को अन्तर्रा्ष्ट्रिय सञ्जाल यस्तै गहन उद्देश्यलाई आत्मसात गर्दै स्थापित र परिचालित भएको हो ।

हरेक टोस्टमास्टर्स सदस्यको यात्रा पहिलो वाचन अभ्यास र नेतृत्व भूमिकाबाट शुरु भएर निरन्तर बढी चुनौतिपूर्ण र प्रभावकारी वाचन अभ्यास एवम् नेतृत्व भूमिकाहरू मार्फत अगाडि बढ्दै जान्छ । हरेक नया अभ्यास र खुडकिलो संगै सदस्यको क्षमतामा थप निखार र तीखोपना विकास हुन्छ । यसरी विकास हुने क्षमताले क्लबको परिवेशभन्दा बाहिर सदस्यको व्यक्तिकगत र पेशागत जीबनमा पनि एक प्रकारको क्रान्ति नै ल्याउने गरेको पाइएको छ । सदस्यहरूमा गहन रूपमा सकारात्मक सोच, सुन्ने धैर्य, ज्ञान बाड्ने मानसिकता, परस्परमा उत्प्रेरणा मार्फत संगै अगाडि बढ्ने भावना, नेतृत्वको भूमिका खेल्ने शिप र आफ्ना विचारहरूलाई प्रभावकारी र सटिक रूपमा प्रस्तुत गर्ने क्षमताको विकास हुन्छ जुन तीव्र प्रतिस्पर्धाको आधुनिक समाजमा निकै महत्वपूर्ण र जीवनोपयोगि छन् । यस अर्थमा पनि टोस्टमास्टर्स संरचनाले यससंग आवद्ध व्यक्तिहरूको जीवनमा ठूलो सकारात्मक योगदान गर्ने गरेको प्रष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij