बनेपा, १४ फागुन । डेनमार्कका राजकुमार योकिम होल्गर बाल्दिमार क्रिस्चियनले काभ्रेपलाञ्चोकको भीमखोरी गाविसस्थित करमडाँडा लघु जलविद्युत् आयोजनाको अवलोकन गर्नुभएको छ ।
नेपालको अनौपचारिक भ्रमणमा आउनुभएका उहाँले सो लघु जलविद्युत् आयोजनाबाट सञ्चालन भएको पानीघट्ट र मिलका बारेमा समेत विस्तृत जानकारी लिँदै जलविद्युत् आयोजनाबाट पानीघट्ट र मिल सञ्चालन गरेर स्थानीयवासीलाई जीविकोपार्जन र आत्मनिर्भर बन्नका लागि प्रभावकारी काम भएको बताउनुभयो ।
जलविद्युत् आयोजना वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, जिविस, काभ्रेपलाञ्चोक, भीमखोरी गाविसलगायतले २०६७ साल भदौमा सञ्चालनमा ल्याएका थिए । सत्र किलोवाट क्षमताको सो जलविद्युत् आयोजनाबाट एक सय ७१ घरमा बिजुलीको सुविधाबाट स्थानीयवासी लाभान्वित भएका छन् ।
डेनिस राजकुमार केयर नेपालले सञ्चालन गरेको कामको अवलोकन गर्न सिन्धुलीको झाँगाझोली पुग्नुभएको छ । केयर नेपाल र डेनिस राजदूतावासको निमन्त्रणामा उहाँ शुक्रबार नेपाल आउनुभएको हो ।