२०८३ साउन ९ शनिबार

बीमा संस्थान ५० औं वर्षमा

ई आर्थिक    बिहिबार, फाल्गुन १२ २०७३
3.8K
Shares
बीमा संस्थान ५० औं वर्षमा

१२ फागुन, काठमाडौं । मुलुकको आर्थिक विकासको लागि आन्तरिक साधन र पूँजीको परिचालन गर्न तथा विदेशी मुद्राको व्ययभार रोक्ने उद्देश्यले स्थापना भएको राष्ट्रिय बीमा संस्थान ५० औं वर्षमा प्रवेश गरेको छ ।

संस्थानले स्वर्ण जयन्ती प्रवेश गरेको अवसरमा बुधबार राजधानीमा आयोजित स्वर्ण जयन्ती समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्रालयका प्रमुख सल्लाहकार प्रा.डा.पुण्यप्रसाद रेग्मीलले मुलुकमा सबैको तीब्र दीगो विकास सबैको चाहना भएको भन्दै यसका लागि बीमा क्षेत्रको विकासको आवश्यकता औंल्याउनुभयो ।

मुलुकको आर्थिक विकाससँग बीमाको व्यवसायिक विकास अपरिहार्य भएकोमा जोड दिंदै उहाँले दीगो विकास लक्ष्य अनुसार नेपालले सन् २०३० सम्ममा अतिकम विकसित राष्ट्रबाट विकाशसील राष्ट्रमा स्तरोन्नतिका लागि पनि बीमा क्षेत्रको प्रवद्र्घन र विकास आवश्यक हुने बताउनुभयो । बीमा व्यवसायको विकासमा संस्थानको भूमिका अग्रणी रहेको उल्लेख गर्दै जीवन बीमामार्फत बाहिरिँदै आएको रकमलाई नियन्त्रण गर्नुपर्ने उहाँले बताउनुभयो ।

कुल जनसंख्याको केबल सात प्रतिशत मात्रै बीमाले समेटेकोतर्फ ध्यानाकर्षण गराउँदै उहाँले मुलुकमा बीमा क्षेत्रको विकास गर्नका लागि पाँच वर्षको ठोस योजना बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

संस्थान सञ्चालक समितिका अध्यक्ष डा. खेमराज खरेलले पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रूपमा आफ्नो स्थान बनाउन सफल भएको बताउनुभयो । अझै पनि ठूलो संख्यामा नेपाली जनता बीमाको पहुँचभन्दा बाहिर रहेको भन्दै दक्षा जनशक्ति र नयाँ सूचना प्रविधिमार्फत देशका कुनाकुनामा बीमा सेवालाई विस्तार गरी देश र जनताको सेवामा समर्पित तथा उत्तरदायी हुन संस्थान कटिबद्घ रहेको उहाँले बताउनुभयो ।

बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले पछिल्लो समय बीमामा नागरिकको पहूँच ज्यादै न्युन रहेको भन्दै नेपालमा पहिलो बीमा कम्पनीको स्थापना भएको ७० वर्ष, पहिलो बीमा ऐन जारी भएको र सरकारी बीमा कम्पनीको स्थापना भएको ५० वर्ष, बीमा समितिको गठन भएको २५ वर्ष बितिसक्दा पनि बीमा क्षेत्रको विकास अत्यन्त सुस्त गतिमा भइरहेको बताउनुभयो ।

बीमा साक्षरता, बीमा विधेयक लगायतका कुरालाई सुधार्नु जरूरी भएको भन्दै उहाँले भन्नुभयो –‘अझै पनि ग्रामिण क्षेत्रका नागरिकको पहुँचमा बीमा पुग्न सकेको छैन । यससम्बन्धी साक्षरताको अझै आवश्यकता छ ।’

संस्थानले विगतको छविलाई समीक्षा गरी संस्थालाई पुनःजीवन दिन इमान्दारिताका साथ अगाडि बढ्न र ग्राहकसँगको विश्वासलाई अक्षुण राख्नुपर्ने उहाँको सुझाव थियो ।

संस्थानका प्रशासक अस्वीनीकुमार ठाकुरले लेखा अद्यावधिक तथा लेखापरीक्षण गराइसकेको र यस कार्यलाई विज्ञ परामर्शदाताको सहयोगमा अभियानका साथ अगाडि बढाइएको जानकारी दिनुभयो ।सरकारको उदार एवं खुला प्रतिष्पर्धात्मक अर्थ नीतिको भावना अनुकुल समयसापेक्ष कडा प्रतिष्पर्धात्मक बीमा बजारको चुनौतिहरूको सामना गर्दै प्रतिष्पर्धाको लहरमा आफुलाई उभ्याइसकेको भन्दै यसका लागि संस्थानले आफ्नो व्यवसायिकता, व्यवस्थापन र आर्थिक पक्षलाई भावी कार्यक्रम तथा लक्ष्य निर्धारण गरी क्रमिक रूपमा सुुधार गर्दै अगाडि बढेको उहाँले बताउनुभयो ।

संस्थानको व्यवसाय प्रवद्र्धनका लागि सशक्त माध्यमका रूपमा कार्यरत अभिकर्ता सेवा शर्त र सुविधामा समयसापेक्ष सुधार गरी आवश्यक व्यवस्था गर्ने प्रयासलाई निरन्तर रूपमा अगाडि बढाउने उहाँले बताउनुभयो । संस्थानको बक्यौता रहेको लेखापरीक्षण सम्पन्न गर्न संस्थान लागि परेको जानकारी दिंदै प्रशासक ठाकुरले विगत केही वर्षदेखि मौजुदा रहेको लेखापरीक्षण सम्बन्धी कार्यसम्पन्न गराउनेतर्फ संस्थान लागिरहेको बताउनुभयो ।

संस्थानले जीवन बीमा गर्ने कम्पनीको सम्पत्ति दायित्व एकिन गर्न बीमांकीय मूल्यांकनलाई नियमित गर्ने जनाउँदै सन् २००७ देखिको बीमांकीय मूल्याङ्कन यथाशीघ्र अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेको छ । बीमाङ्कनबाट बीमा व्यवसाय (जीवन, निर्जीवन र पुनःबीमा)मा बीमालेख तयार गर्न, बीमा शुल्क निर्धारण गर्न, बीमा दाबी सङ्ख्याको पूर्वाअनुमान लगाउन, बीमा कम्पनीको सम्पत्ति वा दायित्वको अवस्था मूल्याङ्कनजस्ता सूचकको विश्लेषणबाट भावी कार्यदिशा लिन सहयोग पुग्नेछ ।

संस्थानले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादक कम्पनीलगायतका अन्य क्षेत्र गरी आफ्नो पूँजी कोषबाट निर्दिष्ठ क्षेत्रमा १५ अर्ब लगानी गरेको जनाएको छ । स्वर्ण जयन्ती समारोहमा संस्थानमा लामो समयदेखि कार्यरत कर्मचारीहरूलाई दीर्घ सेवा पदक, उत्कृष्ठ अभिकर्ताहरूलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij