काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघले आफ्नो स्थापनाको स्वर्ण महोत्सव अवसर पारेर अन्तर्राष्ट्रिय ललित व्यापार मेला–२०७४ आयोजना गर्ने भएको छ ।
पाटन दरबार क्षेत्रस्थित ऐतिहासिक भण्डारखाल बगैँचामा हुने उक्त मेला ३० फागुनदेखि सुरु भई ३ चैतसम्म चल्ने संघले जानकारी दिएको छ ।
०२३ मा स्थापित संघले स्वर्ण जयन्ती वर्षैभर विविध कार्यक्रम सञ्चालन गरी मनाउने क्रममा उक्त मेला आयोजना गर्न लागेको हो ।
मेला अवसरमा नेपाल राष्ट्र बैंक, टक्सार विभागमार्फत स्वर्णजयन्ती लोगो अंकित १००० को चाँदीका सिक्का र १०० को साधारण सिक्का निष्कासन गरिने संघले एक कार्यक्रमको आयोजना गरी जानकारी दिएको छ ।
उक्त मेलालाई ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका एवं महालक्ष्मी नगरपालिकाका साथै नेपाल सरकार व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको प्रवद्र्धन तथा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल हस्तकला महासंघको सहयोग गर्ने भएका छन् ।
नेपालसहित विभिन्न देशका औद्योगिक उत्पादनको प्रदर्शनी तथा बिक्री व्यवस्था मिलाइएको मेलामा स्वदेशी तथा विदेशी गरी कृषि, हस्तकला, विज्ञान प्रविधि तथा अन्य औद्योगिक उत्पादनका ९० वटा प्रदर्शनी स्टल रहनेछन् ।
स्टलमा सजावटका सामान, पर्यटनसम्बन्धी विभिन्न सामग्री, आयुर्वेद, सौन्दर्यका सामग्रीहरू एवं स्वदेशी कपडाजन्य उत्पादन रहने आयोजक संस्थाले जानकारी दिएको छ ।