२०८३ साउन ९ शनिबार

पोखरामा दुई लाख सवारी, व्यवस्थापन गर्न २८ ट्राफिक प्रहरी

ई आर्थिक    शनिबार, फाल्गुन ५ २०७४
5K
Shares
पोखरामा दुई लाख सवारी, व्यवस्थापन गर्न २८ ट्राफिक प्रहरी
गोविन्द सुवेदी, पोखरा, ५ फागुन । दैनिक दुई लाख सवारी चल्ने प्रदेश ४ को राजधानी पोखरामा त्यसको व्यवस्थापनका लागि २८ ट्राफिक प्रहरीको दरबन्दी छ । दैनिक सवारीको चाप बढ्दै गएको तर दरबन्दी नबढ्दा पोखरामा ट्राफिक व्यवस्थापन ठूलो समस्या भएको प्रहरीको गुनासो छ ।

ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख ऐनकुमार मल्लका अनुसार अहिले २८ जनाको दरबन्दी रहेको र तत्काल थप १४० ट्राफिक प्रहरी आवश्यक रहेको छ । अहिले काजमा आएकासमेत गरी ६८ ट्राफिक प्रहरीले पोखरा–लेखनाथ महानगरपालिका र जिल्लाभरको सवारी व्यवस्थापनको काम गरिरहेका छन् ।

मल्लका अनुसार पोखरामा औसत दैनिक ५० दुईपांग्रे र पाँचवटा चारपांग्रे सवारी दर्ता हुने गरेका छन् । न्यून जनशक्ति, सार्वजनिक सवारीसाधनको बढ्दो संख्या र पार्किङ अभावले ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उनको गुनासो छ ।

पोखरालाई भूपि शेरचन राजमार्ग, पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गले जोडेको छ । यातायात व्यवस्था कार्यालय गण्डकीमा १ लाख ८० हजार सवारीसाधन दर्ता छन् । त्यसैगरी, धौलागिरि र बागमतीलगायत अञ्चल कार्यालयमा दर्ता सवारी आवतजावत गर्छन् ।

भारतीय सवारीसाधनको समेत आवतजावत राम्रो छ । प्रदेश संरचनामा गइसकेपछि पोखरामा धेरै जनशक्ति आवश्यक रहेको उनको भनाइ छ । प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख र मन्त्री एवं विभिन्न निकाय र कूटनीतिज्ञका गाडीको समेत व्यवस्थापनमा थप ट्राफिक जनशक्तिको आवश्यकता रहेको मल्लले बताए ।

अधिक सवारीसाधन, व्यस्त सडक
यातायात व्यवस्था कार्यालय गण्डकी (सवारी) का प्रमुख अच्युतराज रेग्मीका अनुसार ट्राफिक व्यवस्थापन गर्ने जनशक्ति कम र सवारी दर्ता गर्ने क्रम अत्यधिक रहेको बताए । पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र केसीले कहाँ कति सवारी आवश्यकता छ भन्नेबारे अध्ययन नहुँदा समस्या बढ्दै गएको बताए ।

सिन्डिकेट तोड्ने नाममा जथाभावी सवारीसाधन दर्ता गरिँदा पोखरा नै अस्तव्यस्त बनेको केसीको दाबी छ । यसले पोखराका न्युरोड, पृथ्वीचोक, सभागृहचोक चिप्लेढुंगा, महेन्द्र पुललगायतका ठाउँमा प्राय जाम हुने गरेको छ ।

प्रविधिविहीन ट्राफिक प्रहरी
पोखराका कुनै पनि चोकमा ट्राफिक लाइट छैन । केही चोकमा पछिल्लो समय ‘स्मार्ट आइल्यान्ड’ राखिएको भए पनि अझै अधिकांश चोक भद्दा छन् । पोखराको जिरो किलोमिटरदेखि विन्ध्यवासिनीसम्मको राजमार्गबाहेकका सडकमा आवश्यक पार्किङसमेत छैन ।

महानगरपालिकाले पूर्वाधार निर्माण नगरिदिँदासमेत फिल्डमा काम गर्न अप्ठ्यारो परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रवक्ता शिव थापाले बताए । थापाले भने, ‘दाताहरूले दिएका ‘राडार गन’समेत अहिले बिग्रेका छन् । मादक पदार्थ सेवन गर्नेको पहिचान गर्न सुँघ्नुपर्ने बाध्यता छ ।’

कार्यालय भवनको पर्खाइमै बित्यो १२ वर्ष
०३६ मा स्थापना भएको ट्राफिक कार्यालय भवन बसपार्कमा थियो । ढुंगाले छाएको गोलघरको वरपर झन्डै २ सय सवारी पार्किङ गर्न मिल्ने ठाउँ थियो । बसपार्क बनाउने भन्दै ०६२ मा गोलघरमा डोजर चलाइयो ।

डोजर चालाउनुअघि उपत्यका नगर विकास समितिले आठ रोपनी जमिनमा पृथ्वीचोक (सहारा क्लबको भवन)पछाडि भवन निर्माण गरिदिने सर्त थियो । अहिले न बसपार्क निर्माण भएको छ न ट्राफिकको गोलघर नै रह्यो, न ट्राफिक प्रहरीले नयाँ घर नै पाए ।

‘१२ वर्षमा खोलो पनि फर्कन्छ भन्थे । तर, यहाँ त कार्यालय पनि फर्केन,’ ०६२ मा भवन भत्काउँदासमेत त्यहीँ कार्यरत ट्राफिक प्रवक्ता शिव थापाले भने ।

ट्राफिकको गुल्म नै चाहिन्छ : कमलसिंह बम, प्रमुख, नेपाल प्रहरी

प्रदेश ४ मा जनशक्ति निकै कम छ । यहाँ मात्र होइन देशभर नै थप २ हजार ट्राफिक दरबन्दीको माग गरेका हौँ । त्यो पूरा हुन सकेको छैन । पोखराको हकमा अन्य प्रहरी तानतुन गरेर काम चलाएका छौँ । थप ३० जनालाई तालिम दिएका छौँ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको भवन बनाउन उपत्यका नगर विकास समतिले धेरै पहिला जग्गा उपलब्ध गराइदिएको हो । आफ्नो जग्गा नभएसम्म माथिबाट रकम आउने व्यवस्था छैन । विभिन्न संघसंस्थाबाट सहयोग जुटाएर भवन बनाउने चर्चा पनि नभएको होइन ।

अहिले देश नै नयाँ संरचनामा गएको हुँदा सबैको ध्यान त्यतै केन्द्रित भएको छ । त्यसले पनि ढिलाइ भएको हो । अब प्रदेश संरचनाअनुरूप यहीँबाट अनुगमन हुने र त्यसका लागि कानुनसमेत नबनेको हुनाले केही अन्योल छ । प्रदेश संरचनाले पूर्णता पाएपछि नयाँ निर्देशिका बन्छ र समस्याको निकास निस्कन्छ ।

अस्तव्यस्त ट्राफिक प्रहरी कार्यालय
ट्राफिक कार्यालय आफैँमा अस्तव्यस्त छ । जीर्ण भवनमा ६८ ट्राफिक आलोपालो रात कटाउँछन् । भवनका ५ मध्ये २ कोठामा ब्यारेक छ । त्यो पनि हिउँदमा धुलाम्य र वर्षामा जलमग्न बन्छ । ट्राफिक जवान भन्छन्, ‘छानो देख्नका लागि मात्र हो, त्यसले पानी ओत्दैन ।’

जवानले त्रिपाल र फ्लेक्सले पानी तर्काउन खोजे पनि भित्र भाँडा थाप्नुपरेको उनले बताए । सडकमा खट्दाको पीडा बिर्साउन आरामसमेत गर्न नपाउने अवस्था रहेको उनको गुनासो छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij