बाँके । बाँकेमा संयुक्त गस्ती शुरु गरिएको छ। डेढ हप्ताअघि सीमावर्ती दुई देशका अधिकारीहरुले गरेको निर्णयअनुसार बाँकेको जमुनाहा–साईगाउँ खण्डमा मंगलबार संयुक्त गस्ती गरिएको हो। जिल्लाले बनाएको निर्वाचन लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत संयुक्त गस्ती थालिएको बाँकेका प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले बताउनुभयो। दुई देशका अधिकारीहरुको बैठकपछिको पहिलो संयुक्त गस्तीमा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, एसपी राई, सशस्त्र प्रहरीका एसपी राजु अधिकारी सहभागी थिए।
जमुनाहादेखि साईगाउँसम्मको करिव ५ किलोमिटरमा संयुक्त गस्ती गरिएको इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज सुधीर खड्काले बताउनुभयो। एसपी राईका अनुसार, संयुक्त गस्तीमा नेपाल र भारतका गरी ५९ जना सहभागी थिए। भारतीय सीमा सुरक्षा बल (एसएसबी) का इन्स्पेक्टर जगदीश सिंहको नेतृत्वमा १३ जना गस्तीमा आएका थिए। नेपालतिरबाट सशस्त्र र नेपाल प्रहरी सहभागी थिए।
सो अवसरमा प्रजिअ पन्थले नेपाल र भारतको सदियौंदेखिको सम्बन्धलाई अझ मजबुत गराउनका लागि सीमामा हुने अपराधलाई दुवै देश मिलेर रोक्नुपर्ने बताउनुभयो।
जेठ १२ गते नेपालगन्जमा भारत बहराइच र श्रावस्ती जिल्लाका डीएम र प्रहरी प्रमुख तथा बाँके, बर्दिया र दाङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखबीचको बैठकले नेपालमा हुन थालेको स्थानीय निकायको चुनावलाई लक्षित गरी चुनावको ४८ घण्टा अघिदेखि नाका सील गर्नेदेखि संयुक्त गस्ती गर्ने निर्णय भएको थियो।
सीमावर्ती क्षेत्रमा चुनाव हुँदा भारतबाट अपराधिक समूह हतियारसहित प्रवेश गरेर धाँधली गर्न सक्नेतर्फ बाँके प्रहरी, प्रशासन सचेत देखिएको छ। दुई देशका अधिकारीहरुको बैठकमा मुख्यसँगै छोटी नाकाहरुमा पनि कडाई गर्ने निर्णय भएको छ। बाँकेको दक्षिण भाग दशगजासँगै जोडिएकाले त्यस क्षेत्रमा विशेष निगरानी गर्नुपर्नेमा जोड दिइएको छ। मंगलबार ३१ नम्बर पिलरतिर गस्ती गरिएको थियो।
साना हतियार र विस्फोटक पदार्थको ओसारपसारदेखि लागूऔषध तथा मानव बेचविखनका लागि नेपालगन्ज नाका जोखिममा मानिन्छ। पश्चिम नेपालको व्यस्त नाका भएर भीडभाडमा भारत तथा खाडीमुलुकसम्म चेली पुर्याउन, हतियार र लागूऔषधका साथै तस्करीका सामान भित्त्याउन कारोबारी लागिपरेको पाइन्छ। चुनाव केन्द्रित सुरक्षा योजनाले नाकामा सूक्ष्म जाँच थालेपछि यस्ता गतिविधिमा कमी आएको छ।
इलाका प्रहरी कार्यालय, जमुनाहाका इन्चार्ज खड्काले सीमावर्ती स्थानीय सुरक्षा निकायका बीचमा सौहार्दपूर्ण वातावरण रहेकाले अब आवश्यकताअनुसार संयुक्त गस्ती र जाँच हुने बताउनुभयो। ‘हामीहरुका बीचमा धेरै राम्रो सम्बन्ध छ। जतिबेला पनि संयुक्त गस्ती र जाँच गर्न सक्छौुं –इन्चार्ज खड्काले भन्नुभयो।
बाँकेका प्रहरी प्रशासन र सीमावर्ती भारतीय अधिकारीहरुका बीचमा विश्वासिलो सम्बन्ध कायम रहेकाले पछिल्ला दिनमा दुवैतिर सहयोग आदान–प्रदान भइरहेको स्रोतले बताएको छ। ‘अपराधीु लाई नियन्त्रण लिने कुरामा दुवैतिरबाट सहयोग मिलेको छ, स्रोतको भनाइ छ। सीमावर्ती जिल्ला भएकाले नेपालगन्जमा अपराध गरेर भारतमा लुक्ने र उता अपराध गरेर यता आएर लुक्ने गरेको पाइन्छ। यस्ता अपराधीलाई एक–अर्काले पक्राउ गरेर दिनका लागि हरेक पटक हुने दुई देशीय अधिकारीको बैठकमा नाम र फोटो साटासाट हुने गर्दछ। ‘पहिला फोटो र नाम साटासाट मात्रै हुन्थे, अहिले काम पनि हुन थालेको छु –स्रोतले भन्यो ।