१३ भदौ, काठमाडौं। नाडा अटोमोबाइल्स् एशोसियशन अफ नेपाल (नाडा)को अायोजनामा अाज मंगलबारदेखि काठमाडौंमा १२ औं नाडा अटो-शो सुरू भएको छ ।
भृकुटीमण्डपमा भदौ १८ गतेसम्म चल्ने उक्त शोको उद्घाटन गर्दै भौतिक यातायात तथा पूर्वाधार मन्त्री बीरबहादुर बलायरले अटो व्यापारीहरुलाई कम्पनीको फाइदको लागि भन्दा पनि देशको हितको बारेमा सोच्न आग्रह गरेका छन् ।
उनले भन्सार मात्रै छुट होइन आवश्यक परेको खण्डमा गाडी नै अनुदान दिन मन्त्रालय तयार रहेको तर मन्त्रालयमा त्यसको प्रयोजनको कारण र आवश्यकताबारे प्रस्ट हुनुपर्ने बताएका छन् ।
कार्यक्रममा नाडा अटोमोबाइल्स एशाेसिएशन अफ नेपालका अध्यक्ष अञ्जन श्रेष्ठले गाडीलाई विलाशिताको भन्दा उत्पादनशीलता बढाउने साधनका रुपमा राज्यले लिनुपर्ने बताए ।
उनले सरकारले सडक पूर्वाधारको विकासमा आपेक्षाअनुरुप काम नगर्दा समस्या बढिहरेको बताए । अध्यक्ष श्रेष्ठले राजनीतिक दवाबका आधारमा मात्रै सडक निर्माण गर्ने प्रवत्ति अन्त्य गर्दै राष्ट्रिय अर्थतन्त्रसँग जोडिएर पूर्वाधार बनाउनुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा अटोमोबाइल्स ब्यवसायीले गाडी आयात गर्दाको भन्सार शुल्क अधिकतम रुपमा सडक पूर्वाधारमा लगाउन माग गरेका छन् । उनीहरुले कुल बजेटको २० प्रतिशत हिस्सा अटोमोबाइल्स क्षेत्रले दिने भएकाले त्यसैअनुरुप सडक पूर्वाधारको विाकस गर्नुपर्ने माग गरेका छन ।
अटो-शोमा विभिन्न ४१ वटा ब्राण्डका सवारी साधन राखिएको अायोजकले जनाएको छ ।
हुण्डाई, टाटा, फोर्ड, होन्डा, महिन्द्रा, टोयोटा, सुजुकी, डाट्सन, लगायतका १६ वटा ब्राण्डका चार पांग्रे, बजाज, यामाहा, हिरो, होन्डा, टिभीएस लगायतका १९ वटा ब्राण्डका दुई पांग्रे र टाटा, अशोक लेल्याण्ड, महिन्द्रा लगायतका ६ वटा ब्राण्डका हेवी कमर्सियल सवारी साधन प्रदर्शनीमा राखिएको आयोजकले जनाएको छ ।
साथै प्रदर्शनीमा बैंक तथा वित्तीय संस्था, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस् र लुबि्रकेण्टसका स्टलहरुसमेत राखिएका छन् ।
अटो-शोमा बिभिन्न अटो कम्पनीहरुले सवारीका नयाँ मोडलहरु सार्वजनिक पनि गरेका छन् । मेलामा खरिदकर्ताहरुलाई विभिन्न छुट र उपहार दिइने बताएको छ ।
मेलामा अवलोकन गर्नेमध्येबाट एकजना भाग्यशाली विजेतालाई युएमको रेनिगेड कमाण्डो २३० बाइक पनि प्रदान गरिने बताइएको छ ।