काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित २१६ मेगावाटको निर्माणाधीन माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत ४३९ जना अझै सम्पर्कविहीन रहेको आयोजनाको प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले जनाएको छ।
कम्पनीका अनुसार बाढी आएको समयमा आयोजनास्थलमा नेपाली, कोरियाली, चिनियाँ, भारतीयलगायत विभिन्न मुलुकका करिब १ हजार ४३३ जना जनशक्ति कार्यरत थिए। तीमध्ये हालसम्म ८७७ जनाको सकुशल उद्धार गरिएको, ७८ जना सम्पर्कमा आएको तथा ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ।
आयोजनास्थलमा फसेका तथा सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, कोरियाली विज्ञ र आयोजनाको टोलीसहित संयुक्त रूपमा अभियान सञ्चालन भइरहेको कम्पनीले जनाएको छ।
बाढीका कारण आयोजनाको बाँधस्थलदेखि मुख्य सुरुङतर्फ जाने क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाँधस्थलबाट मुख्य सुरुङतर्फ बाढीले ट्रकसमेत पल्टाएको अवस्थामा फेला परेको छ। भूमिगत संरचनाभित्र समेत मानिसहरू फसेको हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै सुरुङ, भूमिगत विद्युतगृह, पहुँच सुरुङ तथा अन्य सम्भावित क्षेत्रमा खोजी भइरहेको छ।

हेलिकोप्टरबाट उपकरण ढुवानी
आयोजनास्थलसम्म पुग्ने सडक बाढीले पूर्ण रूपमा क्षतिग्रस्त भएपछि खोजी तथा उद्धारका लागि आवश्यक उपकरण हेलिकोप्टरमार्फत ढुवानी गरिएको कम्पनीले जनाएको छ।
दुईवटा मिनी एक्साभेटर हेलिकोप्टरबाट आयोजनास्थलमा पुर्याएर उत्खनन, भग्नावशेष हटाउने तथा सम्भावित खोजी क्षेत्रमा परिचालन गरिएको छ। सुरुङभित्र जमेको भग्नावशेष हटाउन तथा फलामका रड काट्न आवश्यक जेनेरेटर र ग्यास–कटिङ उपकरणसमेत हेलिकोप्टरमार्फत पुर्याइएको छ।
मुख्य सुरुङ निर्माणका लागि बनाइएको पहुँच सुरुङ (अडिट–३) को माथिल्लो तटीय क्षेत्रमा जमेको लेदो तथा भग्नावशेष एक्साभेटर प्रयोग गरी हटाउने काम भइरहेको छ।
तालिमप्राप्त कुकुर र पर्वतारोही टोली परिचालन
सम्पर्कविहीन व्यक्तिहरूको खोजीका लागि तालिमप्राप्त कुकुरसहितको खोजी टोली तथा पर्वतारोही उद्धार टोली परिचालन गरिएको कम्पनीले जनाएको छ।
भूमिगत संरचना, बाहिरी सतह, भीर, गाउँ तथा अन्य सम्भावित क्षेत्रमा सुरक्षा निकाय र सम्बन्धित टोलीसँगको समन्वयमा खोजी जारी छ। अत्यन्त विकट भौगोलिक अवस्था, बाढीबाट भएको व्यापक क्षति, सडक तथा यातायातको समस्या, आधारभूत सुविधाको अभाव, भूमिगत संरचनाभित्रको जोखिम र थप पहिरोको सम्भावनाका बाबजुद उद्धार कार्यलाई निरन्तरता दिइएको कम्पनीको भनाइ छ।
साइट कार्यालय र कर्मचारी आवास क्षेत्रको सफाइ जारी
मैलुङस्थित आयोजनाको साइट कार्यालय तथा कर्मचारी आवास क्षेत्रमा थुप्रिएको लेदो र भग्नावशेष हटाउने तथा जमेको पानी निकास गर्ने काम भइरहेको छ।
त्यस्तै, प्राविधिक टोलीले आयोजनाको भूमिगत विद्युतगृह, मुख्य प्रवेश सुरुङ, बाँधस्थललगायतका संरचनाको अवस्था निरीक्षण तथा मूल्याङ्कन गरिरहेको छ।
कम्पनीले खोजी तथा उद्धार कार्यका लागि आवश्यक उपकरण, प्राविधिक सहयोग र अन्य स्रोतसाधन आफ्नै खर्चमा परिचालन गरिरहेको जनाएको छ।
शव पहिचान र परिवारसँग समन्वय
आयोजनास्थलबाट निकालिएका शव नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोटको विदुरस्थित नेपाली सेनाको क्याम्पमा ल्याइएको छ। मृतकका परिवार तथा आफन्तलाई शव पहिचानका लागि आवश्यक सम्पर्क, समन्वय र सहजीकरण भइरहेको कम्पनीले जनाएको छ।
मृतकका परिवारलाई आफ्नो संस्कृति तथा रीतिरिवाजअनुसार अन्तिम संस्कार गर्न सहयोग पुग्ने गरी प्रारम्भिक राहतस्वरूप काजक्रिया खर्चसमेत उपलब्ध गराइरहेको कम्पनीको भनाइ छ।

परिवारसँग नियमित सम्पर्क
सम्पर्कविहीन व्यक्तिका परिवारसँग कम्पनीले नियमित सम्पर्क कायम राखेको जनाएको छ। परिवारबाट प्राप्त सूचना, सकुशल उद्धार भएका कर्मचारीबाट प्राप्त विवरण तथा अन्य विश्वसनीय स्रोतका आधारमा सम्भावित खोजी क्षेत्र पहिचान गरी उद्धार टोलीलाई आवश्यक जानकारी उपलब्ध गराउने व्यवस्था गरिएको छ।
कम्पनीले प्रभावित परिवारलाई आवश्यक सूचना, परामर्श तथा सम्भव भएसम्म मनोसामाजिक सहयोग उपलब्ध गराउने प्रयास भइरहेको जनाएको छ।
सरकारी निकायसँग निरन्तर समन्वय
खोजी तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन सरकारले गठन गरेको वार रुम तथा गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र विद्युत विकाससम्बन्धी निकायसँग कम्पनीले नियमित समन्वय गरिरहेको जनाएको छ।
कम्पनीका प्रतिनिधिहरूले आयोजनाको अवस्था, उद्धार कार्यको प्रगति, देखिएका चुनौती तथा आवश्यकताबारे सम्बन्धित सरकारी निकायलाई जानकारी गराउँदै आएका छन्।
कम्पनीले सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि उपलब्ध सबै स्रोत, साधन, प्रविधि र जनशक्तिको अधिकतम परिचालन गरिरहेको जनाएको छ। साथै, खोजी तथा उद्धार अभियानमा संलग्न सरकारी निकाय, सुरक्षा संगठन, प्राविधिक विशेषज्ञ, उद्धार टोली, स्थानीय समुदाय तथा अन्य सहयोगी पक्षप्रति आभार व्यक्त गरेको छ।
