नवलपुर । नवलपुरमा सिँचाइ प्रयोजनका लागि खेत तथा सिँचाइ आयोजनामा जडान गरिएका विद्युत् ट्रान्सफर्मर चोरी हुने क्रम बढेको छ । पछिल्लो नौ दिनमा मात्रै जिल्लाका विभिन्न स्थानबाट तीनवटा ट्रान्सफर्मर चोरी भएका छन् ।
मङ्गलबार राति गैँडाकोट नगरपालिका–१२ सुनबर्साबाट भूमिगत सिँचाइ उपभोक्ता समितिले बोरिङ सञ्चालनका लागि जडान गरेको ट्रान्सफर्मर चोरी भएको हो । ट्रान्सफर्मर चोरी भएको गैँडाकोट–१२ का वडाध्यक्ष चक्रपाणि कँडेलले जानकारी दिनुभयो ।
यसअघि भदौ २७ गते गैँडाकोट–१३ सिख्रौलीस्थित सिख्रौली भूमिगत सिँचाइ उपभोक्ता समितिको बोरिङमा जडान गरिएको ट्रान्सफर्मर चोरी भएको थियो । त्यस्तै, भदौ २३ गते देवचुली नगरपालिका–१७ छिपेनी गुठीबगरीस्थित खेतमा सिँचाइका लागि राखिएको ट्रान्सफर्मर पनि चोरी भएको थियो ।
वडाध्यक्ष कँडेलका अनुसार भोल्टेजका कारण घरनजिक ट्रान्सफर्मर राख्न सम्भव नहुने र खेतमा राखिएका ट्रान्सफर्मरको रातको समयमा निगरानी नहुने भएकाले चोरीको जोखिम बढेको हो ।
गैँडाकोट–१२ मै अझै चारवटा ट्रान्सफर्मर खेतमै रहेको भन्दै उहाँले ती पनि चोरी हुन सक्ने जोखिम रहेको बताउनुभयो । “खेतमा रहेका ट्रान्सफर्मरको सुरक्षा चुनौतीपूर्ण बनेको छ,” उहाँले भन्नुभयो ।
त्यस्तै, गैँडाकोट–१३ का वडाध्यक्ष मधुकर मल्लले रातको समयमा खेतमा जडान गरिएका ट्रान्सफर्मर चोरी हुन थालेपछि किसानको सिँचाइ प्रभावित भएको बताउनुभयो ।
लगातार ट्रान्सफर्मर चोरीका घटना हुन थालेपछि खेत तथा सिँचाइ आयोजनामा जडान गरिएका विद्युत् उपकरणको सुरक्षामाथि प्रश्न उठेको छ । स्थानीयले सिँचाइ आयोजनामा जडान गरिएका ट्रान्सफर्मरको सुरक्षाका लागि प्रभावकारी व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार ट्रान्सफर्मर चोरीका घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । हालसम्म घटनामा संलग्न कसैलाई पक्राउ गर्न नसकिएको उहाँले बताउनुभयो ।