२०८३ असोज २ शुक्रबार

हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ काठमाडौंमा आयोजना हुने

ई आर्थिक    बिहिबार, असोज १ २०८३
152
Shares
हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७ काठमाडौंमा आयोजना हुने

काठमाडौं ।  नेपालको स्वच्छ ऊर्जा क्षेत्रका लगानी, प्रविधि, नवप्रवर्तन र व्यवसायिक सम्भावनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा एक्स्पो आगामी माघ ३ देखि ५ गतेसम्म (जनवरी १७–१९, २०२७) काठमाडौंमा आयोजना गर्न लागिएको हो।

‘उत्थानशील ऊर्जा, समृद्ध नेपाल (Resilient Energy, Prosperous Nepal)’ भन्ने नारासहित आयोजना हुने एक्स्पोको यो पाँचौं संस्करण हो। यसअघि सन् २०१७, २०१८, २०२२ र २०२४ मा एक्स्पो आयोजना भइसकेको आयोजकले जनाएको छ।

नेपालको विद्युत् उत्पादन क्षमता करिब ४३०० मेगावाट पुगेको र सन् २०३५ सम्म ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने राष्ट्रिय लक्ष्य रहेको सन्दर्भमा एक्स्पो आयोजना गर्न लागिएको आयोजकको भनाइ छ। अहिले करिब ६४०० मेगावाट क्षमताका आयोजना निर्माणाधीन रहेको तथा १७ हजार मेगावाटभन्दा बढी क्षमताका आयोजना अध्ययन सम्पन्न गरी विद्युत् खरिद सम्झौता (पीपीए) का लागि आवेदन दिएर निर्माणको तयारीमा रहेको इप्पानले जनाएको छ।

आयोजकका अनुसार आगामी दशकमा विद्युत् उत्पादन क्षमता विस्तारसँगै प्रसारण तथा वितरण पूर्वाधार, घरेलु विद्युत् खपत, औद्योगिक विद्युतीकरण, विद्युतीय सवारी, ऊर्जा भण्डारण तथा भारत र बंगलादेशसँगको अन्तरदेशीय विद्युत् व्यापार विस्तारमा समेत ध्यान दिनुपर्ने आवश्यकता छ। यही आवश्यकता सम्बोधन गर्न एक्स्पोलाई लगानी, प्रविधि, बजार, नीति र साझेदारी निर्माण गर्ने साझा मञ्चका रूपमा विकास गर्न लागिएको हो।

जलवायु उत्थानशील ऊर्जामा जोड

ऊर्जा क्षेत्रको विस्तारसँगै जलवायु परिवर्तनजन्य जोखिम पनि बढिरहेको भन्दै एक्स्पोमा सुरक्षित, दिगो र विपद्–उत्थानशील ऊर्जा पूर्वाधारबारे विशेष बहस गरिने भएको छ।

इलाम, संखुवासभा, लमजुङलगायतका क्षेत्रमा भएका बाढी तथा पहिरो र भोटेकोशी तथा त्रिशूली नदी बेसिनमा देखिएका विपद्का घटनाबाट ऊर्जा पूर्वाधारमा परेको प्रभावलाई समेत छलफलमा समेटिने आयोजकले जनाएको छ।

एक्स्पोमा जलविद्युतसँगै सौर्य, वायु, बायोग्यास तथा बायोमास, फोहोरबाट ऊर्जा, ऊर्जा भण्डारण, हरित हाइड्रोजन, विद्युतीय सवारी, स्मार्ट ग्रिड, डिजिटल ऊर्जा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), इन्टरनेट अफ थिङ्स (आईओटी) तथा जलवायु प्रविधिलाई समेटिनेछ।

१०० भन्दा बढी स्टल, ३० हजार अवलोकनकर्ताको अपेक्षा

आयोजकका अनुसार एक्स्पोमा १०० भन्दा बढी प्रदर्शनी स्टल रहनेछन् भने तीन दिनमा ३० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

एक्स्पोका प्रमुख आकर्षणमा बीटुबी बिजनेस मिटिङ, हिमालयन ग्रीन इनर्जी कन्फरेन्स, अन्तर्राष्ट्रिय कन्ट्री प्याभिलियन, ग्रीन इनर्जी नलेज हब, आयोजना स्थल भ्रमण, प्रत्यक्ष प्रविधि प्रदर्शन, स्टार्टअप हब, ऊर्जा उत्पादन तथा सेवासम्बन्धी प्रतिस्पर्धा, हाइड्रो–कन शो, ईभी ¥याली तथा गाला नेटवर्किङ डिनर रहनेछन्।

प्रदर्शनीमा टर्बाइन, जेनेरेटर, सोलार पीभी, इन्भर्टर, ब्याट्री तथा ऊर्जा भण्डारण प्रणाली, ट्रान्सफर्मर, स्विचगियर, प्रसारण तथा वितरण प्रविधि, ग्रिड प्रविधि, स्वचालन तथा स्मार्ट ऊर्जा समाधानलगायतका उपकरण तथा प्रविधि प्रदर्शन गरिनेछ।

विद्यार्थी तथा नवप्रवर्तकले विकास गरेका ऊर्जा क्षेत्रसम्बन्धी नयाँ अवधारणा, वस्तु तथा सेवाको प्रतिस्पर्धासमेत एक्स्पोमा समावेश गरिने आयोजकले जनाएको छ।

१३ भन्दा बढी मुलुकका कम्पनी तथा प्रतिनिधिको सहभागिता

एक्स्पोमा भारत, चीन, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटाली, स्वीडेन, बेलायत र ब्राजिललगायत मुलुकका कम्पनी तथा सरोकारवालाको सहभागिता गराउने तयारी रहेको आयोजकले जनाएको छ।

सरकारी तथा नियामक निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, आयोजना विकासकर्ता, प्रविधि तथा उपकरण उत्पादक, आयातकर्ता, वितरक, परामर्शदाता, निर्माण व्यवसायी, विश्वविद्यालय, अनुसन्धान संस्था, कूटनीतिक नियोग तथा ऊर्जा क्षेत्रका विज्ञ–विशेषज्ञलाई सहभागी गराउने लक्ष्य राखिएको छ।

इप्पानले एक्स्पोलाई ऊर्जा उत्पादनदेखि लगानी, वित्त, प्रविधि, निर्माण, उपकरण, सेवा, अनुसन्धान र नीतिगत बहससम्मको सम्पूर्ण मूल्य शृंखलालाई एउटै मञ्चमा जोड्ने वार्षिक ऊर्जा इभेन्टका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।

एक्स्पोका लागि सहभागिता तथा स्टल बुकिङ खुला गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij