२०८३ असोज १ बिहिबार

बाढी प्रभावित ऊर्जा क्षेत्रको व्यवस्थापनमा जुट्दै मन्त्री श्रेष्ठ, कोरिया भ्रमण रद्द

ई आर्थिक    बुधबार, भाद्र ३१ २०८३
228
Shares
बाढी प्रभावित ऊर्जा क्षेत्रको व्यवस्थापनमा जुट्दै मन्त्री श्रेष्ठ, कोरिया भ्रमण रद्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको पूर्वनिर्धारित भ्रमण रद्द गर्नुभएको छ।

देशमा उत्पन्न प्राकृतिक विपत्ति र त्यसबाट ऊर्जा क्षेत्रमा भएको क्षतिपछि उद्धार, पुनःस्थापना तथा विद्युत् आपूर्ति नियमित बनाउने कार्यलाई प्राथमिकता दिनुपर्ने भएकाले मन्त्री श्रेष्ठले भ्रमण रद्द गर्नुभएको हो।

भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट ऊर्जा क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीका कारण ठूलो संख्यामा मानिस अझै सम्पर्कविहीन रहेको अवस्थामा खोज तथा उद्धार कार्यमा प्रभावकारी समन्वय गर्नुपर्ने जिम्मेवारी मन्त्रालयसामु रहेको छ।

त्यसैगरी, क्षतिग्रस्त ऊर्जा संरचनाको पुनःस्थापना, विद्युत् आपूर्ति नियमित तथा व्यवस्थित गर्ने, प्रभावित निजी ऊर्जा उद्यमीलाई आवश्यक सहजीकरण गर्ने तथा विपद्पछिको पुनर्निर्माण र पुनरुत्थानका कामलाई तीव्रता दिनुपर्ने भएकाले विदेश भ्रमण स्थगित गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्री श्रेष्ठलाई दक्षिण कोरियाको राजधानी सियोलमा सेप्टेम्बर १५ देखि १७ तारिखसम्म आयोजना भएको ‘ग्लोबल इन्फ्रास्ट्रक्चर कोअपरेसन कन्फ्रेन्स २०२६’ मा मुख्य वक्ताका रूपमा सहभागी हुन आमन्त्रण गरिएको थियो।

उक्त भ्रमणमा मन्त्री श्रेष्ठसँगै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलगायतको टोली सहभागी हुने गरी मन्त्रिपरिषद्ले गत साउन १३ गते भ्रमण स्वीकृत गरेको थियो।

तर देशमा विपद्का कारण ऊर्जा क्षेत्रमा परेको क्षति र त्यसपछिको व्यवस्थापनलाई प्राथमिकता दिँदै मन्त्री श्रेष्ठले पूर्वनिर्धारित कोरिया भ्रमण नगर्ने निर्णय गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij