२०८३ असोज ५ सोमबार

भोटेकोशी बाढीले क्षति भएकै ठाउँमा बस्ती फर्काइँदैन, नयाँ शहर बनाउँछौँ : मन्त्री लम्साल

ई आर्थिक    सोमबार, असोज ५ २०८३
114
Shares
भोटेकोशी बाढीले क्षति भएकै ठाउँमा बस्ती फर्काइँदैन, नयाँ शहर बनाउँछौँ : मन्त्री लम्साल

काठमाडौं ।  पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भोटेकोशी बाढीबाट अति प्रभावित क्षेत्रका बासिन्दालाई क्षति भएकै स्थानमा पुनःस्थापना नगरी वैकल्पिक स्थानमा एकीकृत नयाँ शहर निर्माण गर्ने योजना अघि सारिने बताएका छन्।

सोमबार प्रतिनिधिसभाअन्तर्गतको विकास समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले बाढीबाट पूर्ण रूपमा प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा पुनः बस्ती बसाल्न सम्भव नरहेको भन्दै नयाँ शहर निर्माणको अवधारणा अघि बढाइने बताएका हुन्।

‘हामी अब नयाँ शहर बनाउने अवधारणामा जानेछौँ,’ बैठकमा मन्त्री लम्सालले भने, ‘अहिलेको विपद्मा भूकम्पको भन्दा फरक शैली अपनाउनुपर्नेछ। जुन स्थानमा क्षति भएको हो, त्यही स्थानमा पुनः बस्ती फर्काउने योजना छैन।’

मन्त्री लम्सालका अनुसार प्रस्तावित नयाँ शहरमा उद्योग, अस्पताल, विद्यालयलगायत आवश्यक आधारभूत पूर्वाधार तथा सेवा सुविधा समेटिनेछन्। त्यसका लागि सरकारले आवश्यक जग्गा खरिद गरी प्रभावित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना बनाउने उनको भनाइ छ।

उनले बाढीपछिको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि छुट्टै नयाँ प्राधिकरण गठन नगर्ने पनि स्पष्ट पारे। उनका अनुसार यसअघि गठन भएका संयन्त्रको अनुभवलाई समेत उपयोग गर्दै विद्यमान राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई थप शक्तिशाली र स्रोतसम्पन्न बनाएर पुनर्निर्माण तथा पुनःस्थापनाको काम अघि बढाइनेछ।

मन्त्री लम्सालले विपद्पछि प्रभावित नागरिकको पुनःस्थापना सुरक्षित र दीर्घकालीन हुने गरी सरकारले योजना निर्माण गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij