काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कार्यकारी निर्देशकका लागि दीर्घायु कुमार श्रेष्ठको एकल नाम सिफारिस गर्नुभएको थियो।
श्रेष्ठ यसअघि नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठले गत वैशाखको चौथो सातादेखि उनलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिनुभएको थियो।
निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नुअघि श्रेष्ठ प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख थिए।
श्रेष्ठ आगामी असोजमा प्राधिकरणबाट अवकाश हुँदैछन्।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ बमोजिम तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पदमुक्त गरेपछि श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो।
अब भने मन्त्रिपरिषद्को निर्णयसँगै श्रेष्ठले प्राधिकरणको पूर्ण कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्ने भएका छन्।