काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जेन्जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तरक्रिया सुरु गर्नुभएको छ।
प्रधानमन्त्री शाहको उपस्थितिमा भइरहेको अन्तरक्रियामा युवा पुस्तासँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न विषयमा छलफल भइरहेको छ।
बैठकमा विशेषगरी नवीनतम प्रविधिको प्रयोग तथा डिजिटल सुशासन, युवा स्वरोजगार र स्टार्टअप नीतिका विषयमा छलफल भइरहेको छ। त्यस्तै, प्राविधिक शिक्षाको विस्तार, सर्वसुलभ स्वास्थ्य सेवा तथा वातावरणीय सन्तुलन कायम गर्दै दिगो विकासका लक्ष्य हासिल गर्ने विषय पनि छलफलको एजेन्डामा रहेका छन्।
अन्तरक्रियामा जेन्जी उमेर समूहका सांसदहरूले युवा पुस्ताका अपेक्षा, प्राथमिकता तथा समसामयिक चुनौतीबारे आफ्ना धारणा राख्ने बताइएको छ।
प्रधानमन्त्री शाहले सरकारका नीति तथा कार्यक्रमलाई युवा पुस्ताको आवश्यकता र प्रविधिमैत्री शासन प्रणालीसँग जोड्ने विषयमा सांसदहरूसँग छलफल गर्नुभएको हो।