रसुवा । नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोलीसहित बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि रसुवा पुगेका छन्।
थापा शुक्रबार बिहान भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिको अवस्था बुझ्न रसुवाको नौकुण्ड गाउँपालिका–३ घिचेत पुगेका हुन्। उनले बाढीबाट प्रभावित स्थानीयवासीसँग भेटघाट गर्दै क्षतिको विवरण तथा तत्काल आवश्यक पर्ने राहत र पुनर्स्थापनाका विषयमा जानकारी लिएका छन्।
थापासँगै रहेको विज्ञ टोलीले बाढीबाट प्रभावित क्षेत्रमा भएको भौतिक क्षति, जोखिमको अवस्था तथा आगामी दिनमा अपनाउनुपर्ने सावधानीबारे स्थलगत अध्ययन गर्ने बताइएको छ।
गत १० भदौमा आएको बाढीले रसुवासहित नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीका कारण सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ भने विभिन्न क्षेत्रमा जनजीवन प्रभावित बनेको छ।
बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझेर आवश्यक राहत, उद्धार तथा पुनर्निर्माणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उद्देश्यले थापा विज्ञ टोलीसहित रसुवा पुगेका हुन्।