२०८३ भाद्र १९ शुक्रबार

सशस्त्र प्रहरी बलले प्रधानमन्त्री राहत कोषमा १५ करोड ५० लाख दिने

ई आर्थिक    शुक्रबार, भाद्र १९ २०८३
114
Shares
सशस्त्र प्रहरी बलले प्रधानमन्त्री राहत कोषमा १५ करोड ५० लाख दिने

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ योगदान गर्ने भएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा  भदौ १८ गते बसेको परामर्श समितिको बैठकले सशस्त्र प्रहरी कर्मचारीहरूको तलबबाट रकम योगदान गर्ने निर्णय गरेको हो ।

महानिरीक्षक र अतिरिक्त महानिरीक्षकले १५ दिन, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिन, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकले १० दिन, जुनियर अधिकृतले ७ दिन, वरिष्ठ हवलदारदेखि जवानसम्मले ५ दिन तथा सशस्त्र प्रहरी परिचरले ३ दिनको तलब बराबरको रकम योगदान गर्नेछन् ।

तर भदौ १० गते भोटेकोशी बाढीमा परेर ज्यान जोगाउन सफल भएका बीओपी टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीको तलबबाट भने रकम कट्टा नगरिने भएको छ ।

बैठकले बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई तत्काल १५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

यसमा राहतसम्बन्धी कार्यविधि, २०७९ बमोजिम ५ लाख र सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष सञ्चालनसम्बन्धी मापदण्ड, २०८१ बमोजिम ५ लाख थप गरी मृतक कर्मचारीका परिवारलाई कुल २५ लाख रुपैयाँ उपलब्ध गराइनेछ ।

त्यस्तै, मृतक सशस्त्र प्रहरी कर्मचारीले कल्याण कोषबाट लिएको र भुक्तानी गर्न बाँकी सम्पूर्ण ऋण मिनाहा गरिने भएको छ । मृतक कर्मचारीका सन्ततिलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म अध्ययनका लागि शैक्षिक शुल्क छुट दिने निर्णय पनि गरिएको छ ।

सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका सदस्य सोही बाढीका कारण मृत्यु भएको अवस्थामा प्रतिव्यक्ति १ लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ । बाढीमा ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीको स्मृतिमा संगठनको तर्फबाट उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने निर्णयसमेत भएको छ ।

मृतक सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारका एक–एक जना सदस्यलाई सीपमूलक तालिम प्रदान गरिने भएको छ । त्यस्तै, भोटेकोशी बाढीमा परी ज्यान जोगाउन सफल पाँच जना सशस्त्र प्रहरी कर्मचारीलाई जनही ५० हजार रुपैयाँ राहत उपलब्ध गराइनेछ ।

बैठकले बाढी प्रभावित अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा १ लाख, घरबारविहीन भएमा १ लाख तथा आंशिक रूपमा भौतिक संरचनामा क्षति पुगेका र घाइतेलाई ५० हजार रुपैयाँसम्म राहत उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

सशस्त्र प्रहरी बलले भोटेकोशी बाढीपछि खोज, उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ प्रभावकारी रूपमा निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij