हुम्ला । सिमकोटमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ । लामो समयदेखि नियमित रूपमा ग्यास आपूर्ति हुन नसक्दा जिल्ला सदरमुकाम सिमकोट बजार क्षेत्रमा ग्यासको अभाव बढ्दै गएको हो ।
हुम्लामा एलपी ग्यासको अभाव नयाँ समस्या भने होइन । भौगोलिक विकटता, ढुवानीमा हुने कठिनाइ तथा यातायातका साधनमा निर्भर आपूर्ति प्रणालीका कारण जिल्लामा दैनिक उपभोग्य वस्तुको नियमित आपूर्ति प्रभावित हुँदै आएको छ ।
बिहीबार बिहान नेपालगन्जबाट १५० वटा भरिएका ग्यास सिलिन्डर सिमकोट आइपुगे पनि २७० वटा खाली सिलिन्डर ग्यासका लागि लाइनमा राखिएका थिए । मागको तुलनामा आपूर्ति झण्डै आधा कम भएपछि सबै उपभोक्ताले ग्यास पाउने अवस्था नरहेको आदित्य जनरल स्टोरका प्रोप्राइटर रेसम महतले बताए ।
उनका अनुसार ग्यासको माग उच्च रहे पनि पर्याप्त मात्रामा आपूर्ति हुन नसक्दा उपभोक्तालाई समस्या भएको छ । सीमित मात्रामा आएको ग्यास पनि मागअनुसार वितरण गर्न कठिन भइरहेको व्यवसायीको भनाइ छ ।
हुम्लामा हाल भरिएको एउटा एलपी ग्यास सिलिन्डरको मूल्य ३ हजार २ सय रुपैयाँ पर्ने गरेको छ । नियमित आपूर्ति हुन नसक्दा महँगो मूल्य तिरेर पनि सहज रूपमा ग्यास पाउन नसक्ने अवस्था सिर्जना भएको उपभोक्ताको गुनासो छ ।