२०८३ भाद्र १९ शुक्रबार

रसुवा भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको क्षति, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन

ई आर्थिक    शुक्रबार, भाद्र १९ २०८३
152
Shares
रसुवा भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको क्षति, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा ग्रेनसहित ल्हेन्दे खोलामा आएको  बाढी भोटेकोशी हुँदै त्रिशूलीमा मिसिँदा नदीतटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणले विपद्को भयावह तस्वीर देखाएको छ ।

प्रारम्भिक विवरणअनुसार बाढी तथा त्यसबाट उत्पन्न विपद्का कारण देशभर ७ हजार ५ सय ७० निजी घरमा क्षति पुगेको छ । ४८ सरकारी संरचना, १८ विद्यालय तथा ७ स्वास्थ्य संस्थामा पूर्ण तथा आंशिक क्षति भएको छ ।

यातायात पूर्वाधारमा पनि बाढीले ठूलो क्षति पुर्‍याएको छ । ५५ किलोमिटर सडक पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ ।

प्राधिकरणका अनुसार विपद्बाट भएको कुल आर्थिक क्षति तथा नोक्सानी ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । प्रभावित क्षेत्रको शीघ्र पुनर्लाभका लागि मात्रै ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।

बाढीमा परी ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ । शुक्रबार मध्यान्हसम्म १ हजार २ सय ८७ जनाको शव फेला परेको छ । तीमध्ये सबैभन्दा धेरै चितवनमा ३ सय ५९ जनाको शव फेला परेको छ । नवलपरासी पूर्वमा २ सय १९, नवलपरासी पश्चिममा २ सय १२, नुवाकोटमा १ सय ८४, रसुवामा १ सय ४०, गोरखामा ७२, धादिङमा ६३ र तनहुँमा ३८ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ । फेला परेका शवमध्ये हालसम्म ९६ जनाको मात्र सनाखत भएको छ ।

विपद्का क्रममा ५ हजार ३ सय ९७ जना घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालका साथै नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीमार्फत उपचार भइरहेको छ । सुरक्षा निकायले उद्धार अभियान तीव्र पार्दै हालसम्म १३ हजार ९३ जनालाई सुरक्षित स्थानमा पुर्‍याएको जनाएको छ ।

उद्धार अभियानका क्रममा शुक्रबार त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको छ । विपद्पछि उद्धार तथा राहतका लागि नेपाली सेनाले ८ सय ३० पटक र निजी क्षेत्रले १ सय २९ पटक हेलिकप्टर उडान गरेका छन् । उद्धार गरिएकामध्ये ३ सय ३ जना विदेशी नागरिक रहेको विवरणमा उल्लेख छ ।

विपद् व्यवस्थापन तथा उद्धारका लागि देशभर २१ हजार ४ सय २१ सुरक्षाकर्मी परिचालन गरिएको छ । तीमध्ये नेपाली सेनाका ९ हजार २ सय ८७, नेपाल प्रहरीका ७ हजार ९ सय ३१ र सशस्त्र प्रहरी बलका ४ हजार २ सय ३ जना छन् ।

अझै ५ हजार ८३ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ । सम्पर्कविहीनमध्ये ५ सय ८३ जना विदेशी नागरिक छन् । रसुवामा २ हजार १ सय ३० र नुवाकोटमा २ हजार ३ सय ४० जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ । पहिचान हुन नसकेका शवसमेत सम्पर्कविहीनको संख्यामा समावेश भएको हुन सक्ने प्राधिकरणको अनुमान छ ।

बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ । काठमाडौंबाट ६९ ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ । सशस्त्र प्रहरी बलले नुवाकोट र रसुवामा राहत सामग्री पुर्‍याउन १६३ हवाई उडान गरेको जनाएको छ ।

भौतिक संरचनाको व्यापक विनाश, ठूलो मानवीय क्षति र हजारौं नागरिक सम्पर्कविहीन रहेको अवस्थाले भोटेकोशी–त्रिशूली बाढी पछिल्लो समयकै गम्भीर विपद्का रूपमा देखिएको छ । अब प्रभावित क्षेत्रको खोज, उद्धारसँगै पुनर्निर्माण र पुनर्लाभ सरकारका लागि ठूलो चुनौती बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij