२०८३ भाद्र ११ बिहिबार

भोटेकोशी बाढी: उद्धार, उपचार र राहतमा कुनै कमी हुन नदिन प्रधानमन्त्रीको निर्देशन

ई आर्थिक    बिहिबार, भाद्र ११ २०८३
627
Shares
भोटेकोशी बाढी: उद्धार, उपचार र राहतमा कुनै कमी हुन नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट सिर्जित राष्ट्रिय संकट, उद्धार तथा राहत व्यवस्थापनबारे प्रधानमन्त्री वालेन्द्र शाहले उच्चस्तरीय बैठक बोलाएर सम्बन्धित मन्त्रालयका सचिवहरूसँग छलफल गरेका छन्।

नुवाकोटको बाढी प्रभावित विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएलगत्तै प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाएका हुन्।

बैठकमा मुख्यसचिवसहित रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, स्वास्थ्य तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो। बैठकमा विपद् व्यवस्थापन, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ।

प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप तीव्र बनाउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका छन्। साथै, विस्थापित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्रीले विस्थापितका लागि सञ्चालन गरिएका राहत शिविर व्यवस्थित, स्वच्छ र सुरक्षित हुनुपर्नेमा विशेष जोड दिएका छन्। शिविरमा व्यक्तिगत गोपनीयता सुनिश्चित गर्न तथा महिला, बालबालिका र वृद्धवृद्धालाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकताका साथ राख्न पनि उनले निर्देशन दिएका छन्।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई समन्वयात्मक रूपमा अघि बढाउने विषयमा पनि बैठकमा जोड दिइएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij