काठमाडौं । बुधबार भोटेकोशीमा आएको भीषण बाढीबाट बस्ती तथा ठूला भौतिक संरचनासँगै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू पनि प्रभावित भएका छन्। रसुवा, टिमुरे, स्याफ्रुँबेसी, त्रिशूली बजार, ढुंगेबजारलगायत क्षेत्रमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा बाढीले ठूलो क्षति पुर्याएको छ भने केही शाखा कार्यालय नै बाढीले बगाएको बताइएको छ।
बाढीका कारण बैंक तथा वित्तीय संस्थाका कार्यालयमा रहेको नगद, कागजात, कम्प्युटर, फर्निचरलगायतका सम्पत्तिमा समेत क्षति पुगेको छ। अझ चिन्ताजनक पक्ष भनेको केही शाखामा कार्यरत कर्मचारीसमेत बाढीपछि सम्पर्कविहीन हुनु हो। केही कर्मचारी भने सुरक्षित अवस्थामा सम्पर्कमा आइसकेका छन्।
बाढीका कारण एनएमबि बैंकको टिमुरे शाखा डुबानमा परेको छ। शाखामा कार्यरत केही कर्मचारी बाढीपछि सम्पर्कविहीन रहेको र उनीहरूको मोबाइल फोनसमेत स्विच अफ रहेको बताइएको छ। बैंकले आफ्ना कर्मचारीसँग नियमित सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको टिमुरेस्थित शाखा नै बाढीले बगाएको छ। शाखामा कार्यरत कर्मचारी सम्पर्कमा नआएपछि बैंकले उनीहरूको खोजीका लागि तत्काल हेलिकप्टर परिचालन गरेको छ। बुधबार अबेर रातिसम्म कर्मचारी नभेटिएपछि बिहीबार पनि खोजी कार्य जारी राखिएको छ। बैंकका सूचना अधिकारी प्रमोद आचार्यका अनुसार कर्मचारीको खोजीका लागि बिहीबार पनि घटनास्थलमा हेलिकप्टर पठाइँदैछ।
माछापुच्छ्रे बैंकको शाखा कार्यालयसमेत बाढीले बगाएको छ। शाखामा कार्यरत केही कर्मचारी सम्पर्कविहीन रहेको र उनीहरूको खोजी भइरहेको बताइएको छ।
कृषि विकास बैंकको शाखा बाढीका कारण डुबानमा परेको छ। बाढीपछि सम्पर्कविहीन भएका बैंकका कर्मचारी भने सकुशल भेटिएका छन्। बैंकका अनुसार घटनामा मानवीय क्षति भएको छैन।
एनआईसी एशिया बैंक र हिमालयन बैंकका कर्मचारीले भने बाढी आउनुअघि संकेत पाएपछि भागेर डाँडामा पुगेर ज्यान जोगाएका छन्। बाढीले बैंकका शाखा कार्यालय डुबानमा परे पनि कर्मचारीहरू सुरक्षित रहेका छन्। कार्यालयभित्र रहेका सम्पत्तिमा भने ठूलो क्षति पुगेको बताइएको छ।
नबिल बैंकका सबै कर्मचारी बाढीपछि सम्पर्कमा आएका छन्। बैंकले आफ्ना सबै कर्मचारी सकुशल रहेको जनाएको छ। यद्यपि, बैंकको शाखा कार्यालयमा भने बाढीका कारण क्षति पुगेको छ।
ग्लोबल आईएमई बैंक र हिमालयन बैंकका शाखा कार्यालयसमेत बाढीले बगाएको बताइएको छ। प्रभु बैंकको शाखा कार्यालयमा पनि ठूलो क्षति पुगेको छ। यी बैंकमा कार्यरत केही कर्मचारी अझै सम्पर्कविहीन रहेको र केही कर्मचारी भने सम्पर्कमा आइसकेको जानकारी प्राप्त भएको छ। शाखामा रहेको नगदसहितका सम्पत्तिमा समेत बाढीले क्षति पुर्याएको छ।
त्यस्तै, ज्योति विकास बैंक, लुम्बिनी विकास बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक र आईसीएफसी फाइनान्सका शाखा कार्यालय पनि बाढीबाट प्रभावित भएका छन्। यी संस्थाका केही कर्मचारी सम्पर्कविहीन रहेको तथा केही कर्मचारी भने सम्पर्कमा आइसकेका छन्।
भोटेकोशीमा आएको बाढीले बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा ठूलो भौतिक क्षति पुर्याए पनि अहिले सबैभन्दा ठूलो चिन्ता सम्पर्कविहीन कर्मचारीहरूको अवस्थालाई लिएर देखिएको छ। उनीहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सम्बन्धित निकाय र संस्थाहरूले पहल गरिरहेका छन्।
प्राकृतिक विपद्का कारण भएको क्षतिको भरपाई समयसँगै गर्न सकिए पनि मानवीय जीवनको क्षति अपूरणीय हुन्छ। त्यसैले बाढीपछि सम्पर्कविहीन रहेका सबै कर्मचारी तथा नागरिक सकुशल भेटिऊन् र प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा अघि बढोस् भन्ने अपेक्षा गरिएको छ।