२०८३ भाद्र ११ बिहिबार

भोटेकोशी बाढीको कहर: जलविद्युत आयोजनामा ठूलो क्षति, कर्मचारी तथा कामदार उद्धारका लागि हेलिकोप्टरको पर्खाइमा

ई आर्थिक    बिहिबार, भाद्र ११ २०८३
627
Shares
भोटेकोशी बाढीको कहर: जलविद्युत आयोजनामा ठूलो क्षति, कर्मचारी तथा कामदार उद्धारका लागि हेलिकोप्टरको पर्खाइमा

रसुवा । रसुवा र आसपासका क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण विभिन्न जलविद्युत आयोजनामा कार्यरत ठूलो संख्यामा कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार माथिल्लो त्रिशूली–१, रसुवागढी, मैलुङ खोला, रसुवा भोटेकोशी र लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत करिब २०० जना सम्पर्कविहीन वा उद्धारको पर्खाइमा रहेका छन्।

निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा काम गर्ने एन्ड्रिज हाइड्रोका ७६ जना सम्पर्कविहीन भएका छन्। उनीहरूमध्ये करिब आधा नेपाली र आधा विदेशी रहेको जनाइएको छ। आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका ११ जना पनि सम्पर्कविहीन छन्। तीमध्ये आयोजनामा कार्यरत आठ जना कोरियन नागरिक रहेको इप्पानले जनाएको छ।

त्यस्तै, आयोजनाको परामर्शदाता जेड कन्सल्ट तथा लामा जेभियर्स जेभीका सात जना पनि सम्पर्कविहीन भएका छन्। आयोजनाको हेडवर्क्स क्षेत्रमा १२ जना र विद्युतगृह (पावरहाउस) क्षेत्रमा २०० भन्दा बढी व्यक्ति उद्धारको पर्खाइमा रहेको विवरण प्राप्त भएको छ। आयोजनास्थलबाट पहिलो चरणको उद्धार भएको भन्ने खबर आए पनि त्यसको आधिकारिक पुष्टि हुन बाँकी रहेको छ।

१११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनामा कार्यरत ५१ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ। तिमुरे क्षेत्रमा तीन जना अग्लो स्थानमा पुगेर ज्यान जोगाउन सफल भए पनि उनीहरूसँग हालसम्म सञ्चार सम्पर्क स्थापित हुन नसकेको बताइएको छ।

५ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनाको विद्युतगृहमा कार्यरत आठ जना कर्मचारी बुधबारदेखि नै सम्पर्कविहीन छन्। उनीहरूको अवस्था बुझ्न हेलिकप्टर व्यवस्थापन गरी स्थलगत अवलोकन गर्ने प्रयास भइरहेको छ।

त्यसैगरी, १२० मेगावाटको रसुवा भोटेकोशी आयोजनामा सिभिल ठेकेदार कम्पनी सिनो हाइड्रोका दुई जना हराइरहेका छन्। पाँच जना भने नजिकैको गाउँमा शरण लिएर बसेका छन्। उनीहरूमध्ये तीन जना चिनियाँ र दुई जना नेपाली नागरिक रहेको र उद्धारको पर्खाइमा रहेको जनाइएको छ। उनीहरूको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भइरहेको छ।

२० मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा सुरुङभित्र थुनिएर बुधबारदेखि सम्पर्कविहीन भएका ६० जनाको अवस्था अझै अज्ञात छ। उनीहरूमध्ये २५ जना कर्मचारी र ३५ जना कामदार रहेका छन्। विकासकर्ता कम्पनीका प्रतिनिधिहरू उद्धारका लागि घटनास्थलतर्फ गएर प्रयास अघि बढाए पनि प्रतिकूल मौसमका कारण हालसम्म हेलिकप्टरको व्यवस्था हुन नसकेको इप्पानले जनाएको छ।

इप्पानले बाढी तथा पहिरो प्रभावित जलविद्युत आयोजनामा फसेका कर्मचारी तथा कामदारको तत्काल उद्धारका लागि आवश्यक समन्वय र हवाई उद्धारको व्यवस्था गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij