काठमाडौँ । भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा र नुवाकोटमा सञ्चालित तथा निर्माणाधीन जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । बाढीका कारण सञ्चालनमा रहेका १२ वटा विद्युत् आयोजना क्षतिग्रस्त भएका छन् भने आयोजना तथा विद्युत् क्षेत्रसँग सम्बद्ध २२५ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार भोटेकोशी–त्रिशूली नदी बेसिनमा रहेका जलविद्युत् आयोजना, सबस्टेसन तथा प्रसारण लाइनमा क्षति पुग्दा करिब ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको छ ।
बाढीबाट क्षतिग्रस्त आयोजनामा १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सालासुँगी, १४.८ मेगावाटको माथिल्लो सान्जेन, ४२.५ मेगावाटको सान्जेन, २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ र ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना छन् ।
त्यस्तै, १४.८ मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशूली जलविद्युत् केन्द्र, १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजना तथा २५ मेगावाटको नेपाल विद्युत् प्राधिकरणको सोलार आयोजनामा समेत क्षति पुगेको छ ।
निर्माणाधीन १५ आयोजनामा पनि क्षति
प्राधिकरणका अनुसार भोटेकोशी–त्रिशूली नदी बेसिनमा निर्माणाधीन करिब ४७० मेगावाट क्षमताका थप १५ जलविद्युत् आयोजनामा समेत बाढीले क्षति पुर्याएको छ ।
आकस्मिक बाढीपछि विभिन्न आयोजनामा कार्यरत कर्मचारी तथा कामदार गरी २२५ जना सम्पर्कविहीन भएका छन् । रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत मात्रै ९२ जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रको पावरहाउस मर्मतमा संलग्न ४५ जना, निर्माणाधीन त्रिशूली–३ ‘बी’ आयोजनाको साइटमा कार्यरत २१ जना तथा चेस्को कम्पनीमार्फत कार्यरत ११ जना सम्पर्कविहीन छन् । त्रिशूली–३ ‘बी’ हब सबस्टेसनमा कार्यरत निर्माण कम्पनीका १६ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ ।
प्रसारण लाइन र सबस्टेसनमा पनि ठूलो क्षति
बाढीका कारण छ वटा प्रसारण लाइन तथा सबस्टेसनमा क्षति पुगेको छ । २२० केभी क्षमताको त्रिशूली–३ ‘बी’ हब सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने टावर ढलेपछि चिलिमे २२० केभी हबसमेत बन्द भएको छ ।
त्यस्तै, समुद्रटार–त्रिशूली १३२ केभी तथा चिलिमे–त्रिशूली ६६ केभी प्रसारण लाइन अवरुद्ध भएका छन् । चिलिमे हब–त्रिशूली–३ ‘बी’ हब–मातातीर्थ २२० केभी र त्रिशूली–बालाजु ६६ केभीलगायतका केही प्रसारण लाइनसमेत प्रभावित भएका छन् ।
वितरण प्रणालीमा क्षति पुगेपछि रसुवामा विद्युत् आपूर्ति पूर्ण रूपमा बन्द भएको छ । नुवाकोट, धादिङ र गोरखामा समेत आंशिक रूपमा विद्युत् आपूर्ति अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । अवरुद्ध सेवा वैकल्पिक माध्यमबाट सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।
उद्धार र खोजीलाई तीव्रता
बाढीबाट विद्युत् आयोजनामा अर्बौं रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्राधिकरणले जनाएको छ । क्षतिको अवस्थाबारे जानकारी लिन प्राधिकरणका कार्यकारी निर्देशक दिर्घायुकुमार श्रेष्ठसहितको टोलीले प्रभावित क्षेत्रको अनुगमन गरेको थियो ।
कार्यकारी निर्देशक श्रेष्ठले जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा राख्न र उद्धारका लागि स्थानीय टोली परिचालन गरिएको जानकारी दिनुभयो । स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारी तथा कामदारको खोजी तथा उद्धारलाई तीव्र पारिएको उहाँले बताउनुभयो ।
यसैबीच, बाढीबाट ठूलो क्षति भएको जानकारी पाएलगत्तै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वरिष्ठ व्यवस्थापन समूहको बैठक बोलाउनुभएको थियो । बैठकमा उहाँले विपद्मा परेका कर्मचारी, मजदुर तथा सर्वसाधारणको उद्धार र पुनर्स्थापनालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिनुभएको थियो ।
मन्त्री श्रेष्ठले स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) का पदाधिकारीसँग समेत छलफल गर्दै उद्धार तथा पुनर्स्थापनाका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।