काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ।
बिहीबार बिहान ९ः३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले बाढी प्रभावित बस्ती तथा नदी तटीय क्षेत्रको भौतिक अवस्था र क्षतिको प्रत्यक्ष अवलोकन गर्नुभएको हो। निरीक्षणपछि प्रधानमन्त्रीसहितको टोली बिहीबार नै काठमाडौं फर्किएको छ।
यसअघि बुधबार रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रिय हुनुभएको थियो। बाढीपछि उच्चस्तरीय बैठक आह्वान गरी सम्बन्धित निकायलाई उद्धार, राहत तथा क्षति न्यूनीकरणका लागि आवश्यक निर्देशन दिइएको थियो।
नुवाकोट भ्रमणका क्रममा प्रधानमन्त्री शाह र मन्त्री लम्सालसहितको टोलीले बाढीबाट भएको भौतिक क्षतिको स्थलगत अनुगमन गर्नुका साथै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग अवस्थाबारे विस्तृत छलफल गरेको थियो।
सो क्रममा प्रधानमन्त्री शाहले बाढीका कारण विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन, अवरुद्ध सडक तथा अन्य पूर्वाधार शीघ्र सञ्चालनमा ल्याउन र दीर्घकालीन पुनर्स्थापनाको कामलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रको वास्तविक अवस्था प्रत्यक्ष रूपमा बुझेर उद्धार, राहत र पुनर्स्थापनाका कामलाई प्रभावकारी बनाउन आवश्यक पहल गर्न निर्देशन दिनुभएको बताइएको छ।
स्थलगत निरीक्षण तथा आवश्यक निर्देशनपछि प्रधानमन्त्री शाहसहितको टोली बिहीबार नै काठमाडौं फर्किएको हो।