काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित बनेकाहरूका लागि राहत सामग्री संकलन गर्न सरकारले तीनवटा स्थान तोकेको छ।
सरकारका अनुसार विदेशबाट हवाई माध्यममार्फत आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा संकलन गरिनेछ। संकलित सामग्री आवश्यकताका आधारमा बाढी प्रभावित क्षेत्रमा पठाइनेछ।
त्यस्तै, स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथेली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरिने भएको छ। त्यहाँ संकलित सामग्री पनि आवश्यकताअनुसार प्रभावित क्षेत्रमा वितरण गरिने सरकारले जनाएको छ।
बाढीपीडितलाई राहत उपलब्ध गराउन चाहने व्यक्ति, संघसंस्था तथा अन्य इच्छुक दाताले सरकारले तोकेका उक्त तीन स्थानमा सामग्री पुर्याउन सक्नेछन्। इच्छुक दाताले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत पनि राहत सामग्री उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ।
राहत सामग्री बुझाउने स्थान र सम्पर्क
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघर
सम्पर्क : श्रद्धा भट्टराई (डब्लुएफपी प्रतिनिधि) — ९८४१८७९२२२
नेपाली सेनाको मैथेली ब्यारेक, बट्टार, नुवाकोट
सम्पर्क : आविष्कार (नेपाली सेना) — ९८५१२३४३२४
बैरेनी ब्यारेक, धादिङ
सम्पर्क : दिलिप घले — ९८५११५४२२६
यसैगरी, आर्थिक सहयोग गर्न चाहनेहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा योगदान गर्न सक्ने जनाइएको छ।