जनकपुरधाम । शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा सञ्चालन गरिरहेको ‘शिक्षा संवाद’ अभियानअन्तर्गत मधेस प्रदेशमा दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ।
जनकपुरधाम–६, धनुषास्थित श्री याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकुण्डमा प्रधानाध्यापक एसोसिएसन नेपालको सहजीकरणमा आयोजित कार्यक्रममा मधेस प्रदेशमा शिक्षा क्षेत्रमा क्रियाशील विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा शिक्षाविद् डा. विद्यानाथ कोइराला, शिक्षा तथा खेलकुदमन्त्रीका सल्लाहकार शैलेन्द्र झा, विद्यालय शिक्षा महाशाखा प्रमुख शिव सापकोटा, प्रधानाध्यापक एसोसिएसन नेपालका अध्यक्ष सुदाम गौतम, शिक्षा अभियन्ता अभिषेक घिमिरे तथा शिक्षक महासंघका अर्थ सचिव रामानन्द यादवलगायत सहभागी थिए।
कार्यक्रममा शिक्षा क्षेत्रमा क्रियाशील विभिन्न अगुवाहरूले आगामी शिक्षा ऐनमा समेटिनुपर्ने विषय, विद्यालय शिक्षालाई बलियो र गुणस्तरीय बनाउने उपाय तथा विद्यालय शिक्षाको विकासमा समुदायको अपनत्व र सहभागिता बढाउने विषयमा सुझाव दिएका थिए।
सरोकारवालाहरूले शिक्षा ऐन निर्माण गर्दा विद्यालय तहमा देखिएका व्यावहारिक समस्या, शिक्षक तथा विद्यालयका आवश्यकता र स्थानीय समुदायको भूमिकालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका थिए।
मधेस प्रदेशका ८ वटै जिल्लाबाट २११ जना शिक्षा क्षेत्रका सरोकारवालाको सहभागिता रहेको कार्यक्रममा शिक्षक, प्रधानाध्यापक, अभिभावक तथा शिक्षा क्षेत्रका अन्य अगुवाहरूले शिक्षा सुधारका विभिन्न विषयमा धारणा तथा सुझाव राखेका थिए।
सातै प्रदेशमा पुगेर शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गरी प्राप्त सुझावलाई आगामी शिक्षा ऐन तथा शिक्षा सुधारका नीतिमा समेट्ने उद्देश्यले मन्त्रालयले ‘शिक्षा संवाद’ अभियान सञ्चालन गरिरहेको छ।