२०८३ साउन ३१ आइतबार

कांग्रेस इतर पक्षको भेलामा निधि–महतबीच मञ्चमै विवाद, देउवाले गरे हस्तक्षेप

ई आर्थिक    आइतबार, साउन ३१ २०८३
532
Shares
कांग्रेस इतर पक्षको भेलामा निधि–महतबीच मञ्चमै विवाद, देउवाले गरे हस्तक्षेप

काठमाडौं । नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलाको समापन सत्रमा धर्मसम्बन्धी प्रस्तावको शब्दावलीलाई लिएर नेताहरूबीच सार्वजनिक रूपमै विवाद भएको छ।

पूर्वउपसभापति विमलेन्द्र निधि र निवर्तमान प्रवक्ता डा. प्रकाशशरण महतबीच धर्मसम्बन्धी प्रस्तावमा उल्लेख गरिने शब्दावलीलाई लिएर मतभेद भएपछि समापन सत्रमा मञ्चमै कागज खोसाखोसको अवस्था सिर्जना भएको हो।

डा. महतले प्रस्तावमा ‘सनातनदेखि मानिँदै आएका धर्महरू मान्न सबैलाई स्वतन्त्र हुने’ भन्ने वाक्य राख्नुपर्ने अडान लिएका थिए। तर निधिले भने ‘धार्मिक स्वतन्त्रता’ मात्र उल्लेख गर्नुपर्ने धारणा राखेका थिए।

दुवै नेताबीच विवाद चर्किएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेका थिए। त्यसपछि विवादलाई टुंग्याउँदै डा. महतले तयार पारेको प्रस्तावकै बुँदा वाचन गरेर राष्ट्रिय भेलाको समापन गरिएको थियो।

धर्म र राज्यसम्बन्धी विषयमा कांग्रेसभित्र लामो समयदेखि विभिन्न धारणा रहँदै आएको अवस्थामा राष्ट्रिय भेलाको समापनमै नेताहरूबीच सार्वजनिक रूपमा देखिएको यो विवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यस्तो छ राष्ट्रिय भेलाले पारित गरेका ५ बुँदे प्रस्ताव 

१४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औ महाधिवेशन सम्पन्न गरिनेछ र श्री शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुनेछ। उहाँकै नेतृत्वमा पार्टी एकतावद्ध भई १५ औं महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ । १५ औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित कृयाकलाप देउवाको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानु हुनेछ ।

२०३३ सालमा महामानव बीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखि देश फर्कनु भएको थियो । आज पनि देश अप्ठेरो स्थितिमा छ यस अवस्थामा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तीहरुसंग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढिकरणका लागि कृयाशील रहने ।

नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालम रहि आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित देखि चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायीत्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ ।

वर्तमान संविधानमा जन अपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधान भएको व्यवस्था अनुसार नै सम्बन्धित सबैसंग सम्वाद गरि निकाश दिइने छ ।

२०८३ श्रावण २० र २१ गते सम्पन्न नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावहरुलाई समेत समेटी परिमार्जन सहित पारित प्रस्तावहरुलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एन. पी. साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सिता राना र सहयोगीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपक प्रसाद कुइकेल रहनु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij