२०८३ साउन ३१ आइतबार

बिक्रेतामार्फत ग्यास बिक्री गर्न महासंघको माग, अभाव झन् जटिल बनेको दाबी

ई आर्थिक    आइतबार, साउन ३१ २०८३
741
Shares
बिक्रेतामार्फत ग्यास बिक्री गर्न महासंघको माग, अभाव झन् जटिल बनेको दाबी

काठमाडौं । ग्यास बिक्रेता महासंघ नेपालले उपभोक्तालाई सहज रूपमा खाना पकाउने ग्यास उपलब्ध गराउन नजिकैका अधिकृत बिक्रेतामार्फत बिक्री वितरणको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।

ग्यास उद्योग तथा विभिन्न स्थानमा बिक्री केन्द्र तोकेर सिलिन्डर वितरण गर्ने सरकारी निर्णयले उपभोक्तालाई अनावश्यक सास्ती भएको महासंघको भनाइ छ। बिक्रेतामार्फत बिक्री नगरी उद्योग र छुट्टाछुट्टै बिक्री केन्द्रबाट ग्यास वितरण गर्दा अभावको समस्या झन् जटिल बनेको महासंघले जनाएको छ।

महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले जारी गरेको विज्ञप्तिमा ग्यासको बिक्री वितरणमा देखिएको समस्या समाधान गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। महासंघले समस्या समाधानमा केन्द्रित हुनुपर्नेमा सरकारी निकायहरू अनावश्यक प्रचारमा लागेको आरोपसमेत लगाएको छ।

महासंघका अनुसार पछिल्लो चार महिनामा करिब ६० हजार मेट्रिकटन ग्यास कम आयात भएको छ। आयातमा आएको कमी र प्रभावकारी वितरण प्रणालीको अभावका कारण बजारमा ग्यासको अभाव देखिएको महासंघको दाबी छ।

महासंघले बजारको आवश्यकताभन्दा बढी सिलिन्डर विभिन्न स्थानमा छरिएर रहेका कारण पनि अहिलेको समस्या उत्पन्न भएको जनाएको छ। नयाँ सिलिन्डरको बिक्री नरोकिए आगामी वर्षमा समस्या अझ गम्भीर बन्न सक्ने चेतावनीसमेत महासंघले दिएको छ।

महासंघले तत्काल विभिन्न नाममा सञ्चालन गरिएका बिक्री केन्द्र बन्द गरी उपभोक्तालाई पायक पर्ने स्थानका बिक्रेतामार्फत ग्यास बिक्री वितरण गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ। साथै, ग्यासको वास्तविक समस्या पहिचान गरी दीर्घकालीन समाधानतर्फ केन्द्रित हुन पनि महासंघले सम्बन्धित निकायलाई आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij