२०८३ साउन ३१ आइतबार

स्वास्थ्यमन्त्री मेहताद्वारा मधेस प्रदेशका स्वास्थ्य संस्थाको अनुगमन

ई आर्थिक    आइतबार, साउन ३१ २०८३
209
Shares
स्वास्थ्यमन्त्री मेहताद्वारा मधेस प्रदेशका स्वास्थ्य संस्थाको अनुगमन

स्वास्थ्य मन्त्रीद्वारा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अवलोकन

राजविराज ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि प्रस्तावित जग्गाको अवलोकन गर्नुभएको छ।

अवलोकनका क्रममा उहाँले प्रतिष्ठान निर्माणका लागि आवश्यक पूर्वाधार, जग्गाको अवस्था तथा आगामी प्रक्रियाबारे जानकारी लिनुभएको छ।
मन्त्री मेहताले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ऐन अघि बढिसकेको जानकारी दिँदै प्रतिष्ठानलाई व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

यसैगरी मन्त्री मेहताले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गरी अस्पतालको सेवा प्रवाह, पूर्वाधार तथा जनशक्तिको अवस्थाबारे जानकारी लिनुभएको छ। उहाँले अस्पतालको सेवा विस्तार र सुदृढीकरणका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा अन्य सेवाहरू उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्ने बताउनुभएको छ।

मन्त्री मेहताले अस्पताललाई भदौ महिनाको अन्त्यसम्म हस्तान्तरण प्रक्रिया सम्पन्न गर्न सम्बन्धित पक्षलाई अनुरोध गर्नुभएको छ। अस्पताल हस्तान्तरणपछि आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालनसँगै सेवा विस्तारमा मन्त्रालयले सहजीकरण गर्ने उहाँले बताउनुभएको हो।

स्थानीय नागरिकलाई गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले संघ, प्रदेश र सम्बन्धित निकायबीच समन्वय गरी स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गरिने मन्त्री मेहताको भनाइ छ।

स्वास्थ्य मन्त्रीद्वारा मधेस प्रदेशका स्वास्थ्य संस्थाको अनुगमन

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सिरहाको लहानस्थित विभिन्न स्वास्थ्य संस्थाको अनुगमन तथा निरीक्षण गर्नुभएको छ।
उहाँले रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुगेर अस्पतालको समग्र सेवा प्रवाह, पूर्वाधार तथा उपचार व्यवस्थाबारे जानकारी लिनुका साथै ट्रमा सेन्टर निर्माणका लागि प्रस्तावित जग्गाको स्थलगत अवलोकन गर्नुभएको छ।

पूर्व–पश्चिम राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेलाई समयमै उपचार उपलब्ध गराउन लहानमा प्रभावकारी ट्रमा सेवा आवश्यक रहेको उल्लेख गर्दै मन्त्रीज्यूले ट्रमा सेन्टर सञ्चालनलाई प्राथमिकताका साथ अघि बढाउने बताउनुभएको छ।

यसै क्रममा मन्त्रीज्यूले सगरमाथा चौधरी आँखा अस्पताल र महेन्द्र ज्ञानी प्रसूति गृहको समेत निरीक्षण गर्नुभएको छ। उहाँले स्वास्थ्य संस्थामा उपलब्ध सेवा, जनशक्ति, पूर्वाधार, उपकरण तथा बिरामीले प्राप्त गरिरहेको सेवाको अवस्थाबारे जानकारी लिनुभएको थियो।

स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै गुणस्तरीय, सहज र प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले आवश्यक सुधार तथा व्यवस्थापनलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij