२०८३ साउन २८ बिहिबार

ओखलढुंगाको लेकाली भेगमा फल्ने ‘बुङ आलु’ खन्न सुरु, आम्दानीको स्रोत बन्दै

ई आर्थिक    बिहिबार, साउन २८ २०८३
589
Shares
ओखलढुंगाको लेकाली भेगमा फल्ने ‘बुङ आलु’ खन्न सुरु,  आम्दानीको स्रोत बन्दै

ओखलढुंगा।  ओखलढुंगाको लेकाली भेगमा परम्परागत विधिबाट उत्पादन गरिएको अर्गानिक ‘बुङ आलु’ खन्न सुरु गरिएको छ। जिल्लाको समुद्र सतहबाट दुई हजार चारसय मिटरभन्दा माथिको उचाइमा रहेका ठाडे, टोड्के, जन्तरखानी, पात्ले, भुसिङ्गा, रावादोलुलगायतका क्षेत्रमा त्यो आलु उत्पादन हुँदै आएको छ।

पाँचदेखि १० वर्षसम्म बाँझो राखिएको जमिनमा उम्रिएका झारपातसहितको जमिन तासेर निकालिएको चपरी पोलेर तयार गरिएको माटो-खरानीमा माघ/फागुन महिनामा बुङ आलु रोप्ने गरिँदै आएको छ।

झारपात र माटो पोलेर त्यसरी तयार पारिने बुङमा कुनै पनि रासायनिक मल र विषादी प्रयोग नहुने भएकाले त्यो आलु पूर्णरूपमा प्रांगारिक र स्वास्थ्यवर्द्धक मानिन्छ। साउनको अन्तिम साताबाट खन्न सुरु गरिने बुङ आलुले लेकाली आलु स्थानीय कृषकको मुख्य आम्दानीको स्रोत समेत बनेको छ।

विगतका वर्षहरूमा बजारमा सामान्य बारीको आलुलाई समेत ‘बुङ आलु’ भन्दै बिक्री गर्दा वास्तविक उपभोक्ता ठगिने गरेका थिए। यस वर्षदेखि भने सिद्धिचरण नगरपालिका-६ ठाडे जन्तरखानीस्थित सेती देवी अगुवा आलुखेती कृषक समूहको अगुवाइमा अर्गानिक प्रमाणीकरण गरी आफ्नै ब्रान्ड र प्याकेजिङमा बजार पठाउने तयारी गरेको छ।

जन्तरखानी क्षेत्रमा उत्पादित बुङ आलुलाई अघिल्लो वर्ष नै ‘अर्गानिक सर्टिफिकेसन नेपाल’ ले प्रांगारिक कृषि उत्पादन तथा प्रशोधन प्रणालीको राष्ट्रिय प्राविधिक मापदण्ड निर्देशिका २०६४ (संशोधन २०६५) बमोजिमको प्रक्रिया पूरा गरी ‘प्रांगारिक उत्पादन’ को आधिकारिक प्रमाणपत्र प्रदान गरिसकेको छ।

सिद्धिचरण नगरपालिका र सहयोगीहाताहरूको समूह (साहस) नेपालको लागत साझेदारीमा अघि बढाइएको प्रमाणीकरण प्रक्रियाअन्तर्गत सेतीदेवी अगुवा आलुखेती कृषक समूहमा आबद्ध २२१ जना कृषकले ५९.९ हेक्टर क्षेत्रफलमा उत्पादन गरेको ६१.८ टन बुङ आलु निरीक्षणपछि अर्गानिक उत्पादनको मान्यता दिइएको थियो।

यसैगरी, सोही क्षेत्रको २५९ दशमलव एक हेक्टरमा उत्पादित ५१ टन मकै र सिमीलाई पनि ‘रूपान्तरण अवधिको प्रांगारिक उत्पादन’को प्रमाणपत्र प्राप्त भएको छ।

प्रमाणीकरणको अवधि एक वर्ष मात्र हुने भएकाले कृषक समूहले हाल बुङ आलुको नवीकरणसमेत गरिसकेका छन्। नवीकरण भएसँगै आलुलाई आधिकारिक अर्गानिक लोगो र आफ्नै ब्रान्डसहित बजारमा पठाउन बाटो खुलेको छ।

सेतीदेवी अगुवा आलुखेती कृषक समूहकी सहसचिव बुद्धमाया मगरले जिल्लाभित्रका स्थानीय बजारमै पनि नक्कली बुङ आलु बिक्री हुने गरेकाले प्रमाणीकरण र नवीकरणपछि सक्कली पहिचानसहित बजार पठाउन लागिएको बताइन्।

‘ओखलढुंगाका स्थानीय बजारमै पनि बुङ आलु पाउन मुस्किल हुन्छ, बारीकै आलुलाई बुङको भनेर उपभोक्ता झुक्किने अवस्था थियो’, बुद्धमायाले भनिन्, ‘अब हामीले अर्गानिक प्रमाणीकरण र नवीकरण सकेर आफ्नै झोलामा प्याकिङ गरी पठाउने भएकाले उपभोक्ता झुक्किनुपर्ने अवस्था अन्त्य हुन्छ भन्ने लागेको छ।’

यसवर्ष आलुको बोटमा असिना पानी र जंगली जनावर मृगले पुर्‍याएको क्षतिका कारण उत्पादनमा केही कमी आएको छ। उत्पादन घटे पनि मेहनत र लागतअनुसारको मूल्य पाउनुपर्ने माग कृषकको माग छ। स्थानीय कृषक डम्बरकुमारी मगरका अनुसार बुङ आलु तयार पार्न धेरै दुःख हुने भएकाले बजारमा अन्य सामान्य आलुसँग प्रतिस्पर्धा गर्न कठिन हुने गरेको छ।

अर्का स्थानीय कृषक यानुमाया मगरले बुङ तयार पार्न र काँडाघारी फाँड्न महिनौँ मेहनत गर्नुपर्ने भए पनि बजारमा बिचौलिया र उपभोक्ताले मूल्य बुझिनदिँदा मर्का पर्ने गरेको गुनासो गरिन्। ‘वर्षौं जमिन बाँझो राखेर, खनेर, चपरी पोलेर फागुनमा रोपेको आलु साउनमा मात्र खन्न पाइन्छ’, कृषक मगरले भन्नुभयो, ‘मेहनत धेरै भएकाले कम्तीमा उचित मूल्य पाए किसानको दुःख उठ्ने थियो।’

हाल सुरुवाती चरणमा प्रतिकिलो ८० रूपैयाँ देखि १०० रूपैयाँसम्ममा बिक्री भइरहेको बुङ आलुलाई समूहले नै मूल्य निर्धारण गरी आकर्षक प्याकेजिङसहित बजारमा पठाउने योजना बनाइरहेको छ।

अर्गानिक प्रमाणीकरण भइसकेकाले स्वदेशका प्रमुख सहरमा मात्र नभइ विदेशमा समेत निर्यात गर्न सकिने र बुङ आलुखेतीलाई कृषि पर्यटनसँग जोडेर प्रचारप्रसार गर्नसके किसानको जीवनस्तर उकास्न ठूलो टेवा पुग्ने विश्वास गरिएको छ।

अर्गानिक प्रमाणीकरणलाई हरेक वर्ष नवीकरण गर्न ठूलो धनराशि खर्च हुने भएकाले स्थानीय सरकार र सरोकारवाला कार्यालयहरूले यसको निरन्तरताका लागि बजेटमा सहयोग गर्नुपर्ने कृषकको माग छ।

समूहकी सहसचिव मगरले नवीकरणका लागि वार्षिक करिब दुई लाख रूपैयाँ खर्च हुने भएकाले हरेक वर्ष बजेट व्यवस्थापनमा चुनौती रहेको बताइन्।

सिद्धिचरण नगरपालिका र राष्ट्रिय कृषि आधुनिकीरकण परियोजनाले सञ्चालन गरेको आलु जोनले झोला छपाइ र अर्गानिक प्रमाणपत्र नवीकरणमा सहयोग गरेका छन्।

बुङ आलुको उचित मूल्य निर्धारण भएमा कृषकको जीवनस्तर उकासिन मात्र होइन कृषि पर्यटनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ। वन्यजन्तु र प्राकृतिक प्रकोपको क्षति, कामदार समस्याकाबीच जिल्लामा दुई सय सात हेक्टर क्षेत्रमा बुङ आलुखेती हुँदै आएको कृषि ज्ञान केन्द्र ओखलढुंगाको तथ्यांक छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij