ई–आर्थिक, ताथली : चाँगुनारायण नगरपालिका–९, ताथली, गोठालेचौरका १८ वर्षीय कुशल बस्नेतले कमर्सियल पाइलट लाइसेन्स (CPL) प्राप्त गरेका छन्। सानैदेखि आकाशमा उड्ने सपना बोकेका बस्नेतले निरन्तरको मेहनत, अनुशासन र दृढ संकल्पका कारण कम उमेरमै व्यावसायिक पाइलट बन्ने योग्यता हासिल गरेका हुन्।
बस्नेतको यो उपलब्धिले परिवार, आफन्त तथा ताथली–गोठालेचौरवासीमा खुसी छाएको छ। उनको सफलताले ताथली, गोठालेचौर क्षेत्रलाई समेत थप चर्चामा ल्याएको स्थानीयको भनाइ छ।
सानै उमेरदेखि उड्डयन क्षेत्रमा विशेष रुचि राख्दै आएका बस्नेतले आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर मेहनत गर्दै आएका थिए। १८ वर्षकै उमेरमा कमर्सियल पाइलट लाइसेन्स हासिल गर्नु आफैंमा उल्लेखनीय उपलब्धि भएको यस क्षेत्रका जानकारहरू बताउँछन् । उनी नेपालमै यति कम उमेरमा यस्तो लाइसेन्स प्राप्त गर्ने संभवतः पहिलो व्यक्ति हुन् ।
आफ्नो सफलतालाई उनले उमेरभन्दा पनि सपना, मेहनत र दृढ संकल्पको परिणामका रूपमा लिएका छन्।
‘हरेक मानिसले सपना देख्नुपर्छ र त्यसलाई दुःख तथा मेहनतबाट वास्तविकतामा बदल्न सक्नुपर्छ,’ बस्नेतले भने, ‘सकारात्मक सोचका साथ निरन्तर प्रयास गर्ने हो भने संसारमा असम्भव भन्ने केही छैन।’
उनका अनुसार पहिलो उडानका क्रममा केही डर र त्रास भए पनि आफूले गरेको मेहनत र प्रशिक्षणले आत्मविश्वास बढाउन मद्दत गरेको थियो । आकाशमा उडिरहेको धातुको वस्तु के हो भन्ने बाल्यकालदेखिको जिज्ञासाले आफूलाई उड्डयन क्षेत्रमा आकर्षित गरेको उनले बताए ।
‘सानैदेखि आकाशमा उडिरहेको धातुको वस्तु देख्दा त्यसप्रति जिज्ञासा लाग्थ्यो । अहिले पाइलट बनेर त्यो सपना पूरा गर्ने दिशामा एक चरणको सफलता हासिल गरेको महसुस भएको छ,’ उनले भने ।
बस्नेतको सफलताले स्थानीय युवामा समेत उत्साह थपेको छ । स्थानीयवासीले उनको उपलब्धिले देशका अन्य युवालाई पनि आफ्नो सपना पछ्याउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
परिवार तथा ताथली–गोठालेचौरवासीले बस्नेतको आगामी व्यावसायिक यात्राका सबै उडान सुरक्षित, सफल र उपलब्धिमूलक रहून् भन्दै शुभकामना दिएका छन् ।
बस्नेतको सफलताले एउटा सन्देश दिएको छ- सपना ठूलो हुन उमेर ठूलो हुनुपर्दैन; त्यसलाई पूरा गर्न मेहनत, लगन र दृढ संकल्प आवश्यक हुन्छ ।